Loading...
Logo
Image

देहव्यापार छोडेसंगै कमाई नहुँदा कोरोनाको भन्दा भोकै मर्नुपर्ने चिन्ता

कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका वादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भयो, हामी भोकले मर्नुपर्ने अवस्थामा आइसकेका छौँ”, वादी समुदायमा बस्दै आएकी यमुना वादीले भनिन्, “हामीले हाम्रा लागि सरकार छ भनेर कसरी सोच्ने १५ किलो चामल, अलिकति दाल, नुन दिएर गएको हाम्रो स्थानीय सरकार फेरि हाम्रो अवस्था बुझ्न कहिले आएन ।”

उनीहरूका अनुसार गाउँमा भएका युवा पनि कमाउनका लागि भारत गएका उतै रोकिएका छन् । यहाँ केटाकेटी र महिला छन् । एक वादी महिलाले भनिन्, पुरानो पेसा परिवर्तन गर्न निकै सङ्घर्ष गरेर टोलमै सानो चिया पसल चलाउँदै आएको थिएँ, तर अहिले त्यो पनि बन्द भयो । लामो समय बन्दाबन्दी भएका कारण आउने बाटो कहीँकतै भएन, भएको खाद्यान्न खाइसक्याैँ । अब भोकै बस्नुपर्ने अवस्था छ ।”

सुनिता वादी भन्छिन्, ''लामो समयको सङ्घर्ष र चेतनापछि समुदायका केही मानिसमा पहिले–पहिले गरिआएको देहव्यापार सही नभएको र विकल्पमा अर्को कुनै श्रमलाई मुख्य पेसाका रूपमा अङ्गाल्नुपर्ने सोचको विकास भएको थियो । तर अहिलेको यो विषम परिस्थितिले यस्तो अवस्था सिर्जना गरिदियो कि भोकभन्दा अर्को ठूलो कुनै सङ्कट छैन । हामीलाई राज्यले कि काम दिनुपर्यो- कि माम दिनुप-यो, होइन भने हाम्रो पुरानो पेसालाई सञ्चालन गर्न दिनप-यो भन्ने आवाज समुदायमा उठ्न थालेको छ'' 

“हामीलाई अहिले विश्वभर फैलिएको कोरोनाको भन्दा बढी चिन्ता भोकको छ । हाम्रा केटाकेटीले पेटभरि खान पाउँदैनन्, हामी कयौँ दिन भोकै सुतेका छौँ । यस्तोमा हामीलाई सरकारले हेर्दैन भने कसले हेर्छ ?” शीतला वादीले सरकारलाई प्रश्न गरिन्  । “सबैले कोरोना रोगले मर्छन् भन्थे । यहाँ त खाना खान नपाएर भोकले मरिएलाजस्तो हुन थालिसक्यो”, सितलाले भनिन्, “थोरै भएको अन्न दिन बिराएर खाऊँ भने पनि दुई दिनलाई छैन । विचार गरौँ भोकै कति दिन बाँच्न सकिन्छ ?” आफूहरू रोगभन्दा भोकको शोकले पिरोलिएको शीतलाको गुनासो छ ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी गाउँपालिकाको तर्फबाट वादी समुदायले पहिलो चरणको राहत पाइसकेको बताउँछन् । बन्दाबन्दी लम्बिँदै गएका कारण अन्न सकिएको पनि होला तर फेरि दोस्रो चरणको राहत वितरणका क्रममा वादी समुदायमा पनि बुझ्ने र आवश्यक परे राहत प्रदान गर्ने अध्यक्ष चौधरीले बताए । गाउँपालिकामा कोही जनता भोकै नरहुन् भन्ने सोचका साथ आफूहरू लागिपरेको चौधरीले बताए ।

स्रोत: रासस

Comments

KATHMANDU WEATHER