Loading...
Logo
Image

नेपालमा तत्कालका लागि सलहको जोखिम टर्यो

सलह किराको प्रवेश र रोकथामबारे अध्ययन गर्न गठित प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको छ। कृषि मन्त्रालयले गठन गरेको समितिले बुझाएको प्रतिवेदनअनुसार पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरबितर भएको छ ।

सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष छ ।

यस्तै, दक्षिण एसियामा देखिएको सलहबारे  खाद्य तथा कृषि कार्यक्रम (एफएओ)ले गरेको अध्ययनमा पनि सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम पाइएको अध्ययन समितिका संयोजक सहदेव हुमागाइँले बताए ।

एफएओको विशेष टोली भारतमा स्थलगत अध्ययनमा रहेको र उताको रिर्पोटमा पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको भन्ने आएको छ,प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका हुमागाइँले भने ।

सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने पनि समितिले औँल्याएको छ ।

हावाको बहावभन्दा फरक दिशामा सलह उड्न नसक्ने भएकाले पनि सलह प्रवेशको सम्भावना कम भएको हुमागाइँले बताए ।

झण्डै एक साता लामो अध्ययनमा तत्कालका लागि जोखिम टरे पनि विगतमा सलहले ठूलो क्षति निम्त्याएकाले सर्तकता अपनाउन समितिले मन्त्रालयलाई सुझाव दिएको छ ।

सलह नियन्त्रणका लागि दक्ष प्राविधिक तयार गर्न तालिमको व्यवस्था गर्ने, किरा भित्रिएको खण्डमा नियन्त्रणका लागि स्रोत, साधनको यथोचित बन्दोबस्त गर्ने तथा तीनै तहको सरकारको तर्फबाट टास्कफोर्स बनाएर जिम्मेवारी बाँडफाँड गरेर तयारी अवस्थामा रहनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको समितिले जनाएको छ ।

स्रोत: Online Khabar

Comments

KATHMANDU WEATHER