Loading...
Logo
Image

डिल्लीबजार मालपोतका अधिकृत रघुबंश कँडेल सहित ६ जनालाई घुस रकम सहित अख्तियारले समात्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित मालपोत कार्यालयका कर्मचारीहरुलाई पक्राउ गरेको छ ।

मंगलबार राति आयोगको टोलीले गरेको विशेष अपरेशनमा काठमाडौंको डिल्लीबजारमा रहेको मालपोत कार्यालयका ६ जना कर्मचारीलाई ८ लाख ५० हजार घुसको रकम सहित पक्राउ गरेेको हो ।

पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत रघुवंश कँडेलसहित छ जना रहेका छन् । सेवाग्राहीसँग जग्गाको कित्ताकाट गर्ने व्यवस्था मिलाइदिए वापत घुसको मोलमोलाई गरिरहेको अवस्थामा सामाखुसी चोक नजिकैको एक पार्टी प्यालेसबाट उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो।

जग्गाको कित्ता काटको विषयमा घुस रकम लिदैगर्दा घुस रकम सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा मालपोल अधिकृत रघुबंश कँडेल सहित खरिदार दीपक खनाल, नायब सुव्बा उद्धव सापकोटा, नवराज घिमिरे, नारायण प्रसाद पोखरेल र गोपाल खड्का रहेका छन् । उनीहरुको साथबाट घुसवापत लिएको ८ लाख ५० हजार रुपैयाँ बरामद गरेको प्रवक्ता कोइरालाले जानकारी दिए। 

मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत अधिकृत रघुबंश कँडेलले यसअघि पनि घुस माग्ने गरेको सेवाग्राहीको गुनासो छ। सहकारी विभाग लगायतका कार्यालयमा रहंंदा उनले अकुत सम्पत्ति आर्जन गरेको बताइएको छ ।अख्तियरले  यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Comments

KATHMANDU WEATHER