Loading...
Logo
Image

दशैमा घर जाने यात्रुको भिड बढ्यो

घटस्थापना शुरु भएसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा घर जाने यात्रुको भिड लागेको छ ।

आजदेखि धेरैजसो विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि घर जानेको घुइँचो लागेको हो । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक २५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिन थालेको बताउनुभयो ।

यस्तै, दशैँका लागि अहिलेसम्म ६० हजार यात्रुले बसको अग्रिम टिकट लिएका लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताउनुभयो । यात्रुले यसपालि पनि अग्रिम टिकट लिन सास्ती परेको गुनासो गरिरहेका छन् । सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि गएको २६ गते देशैभरका सार्वजनिक गाडीमा रुट परमिट समेत खुला गरिसकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताउनुभयो । यात्रुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बस समेत थप गरेको उहाँको दाबी छ ।

ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । यो सहायता कक्षमा यात्रुले यात्राका क्रममा आफू ठगीमा वा अफ्ठ्यारो अवस्थामा परे गुनासो टिपाउन सक्ने छन् । यस्तै, बस चालक तथा सहचालकले पनि आफ्ना कुरा राख्न सक्ने छन्।

Comments

KATHMANDU WEATHER