Loading...
Logo
Image

उखुको मूल्य निर्धारणप्रति किसान असहमत

सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् ।

सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाएका हुन् ।

सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल रु २५ बढाएको छ । हाल उखुको मूल्य प्रतिक्विन्टल रु पाँच सय ६५ निर्धारण गरिएको छ ।

उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासङ्घले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा गत वर्षको अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गरिदिन माग गरिएको छ । गत वर्ष बेचेको उखुको अनुदानबापतको रकम अझैसम्म उखु उत्पादक किसानले पाएका छैनन् । तर जिल्लाका चिनी मिलले चालु यामको उखु क्रसिङको काम सुरु गरिसकेका छन् ।

यसप्रति किसानले आपत्ति जनाएका छन् । उचित मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन गर्न नदिने किसानको भनाइ छ ।

Comments