Loading...
Logo

लकडाउनका साथी

काठमाडौँ, चैत २२ गते शनिबार । देशभर घोषणा गरिएको लकडाउनको कारण सडकबस्तीहरु सुनसान छन् । मानिसहरु घरभित्रै छन् । प्रहरीहरु चोकचोकमा बसेर चेकिङ गरिरहेका छन् । मानिसहरु फाट्टफुट्ट एक दुई जना निस्किएका छन् । तर यहि बिचमा २१ गते काठमाडौंको कागेश्वरी मनोहरा न.पा.को वडा नंं. ९ मा भने ८/१० जनाको समूह सडकमा निस्कन्छ । शुरुमा बिरेन्द्रचोकमा रहेका प्रहरीहरु केहि विचलित हुंदै चलमलाउछन् । मुखमा मास्क लगाएकोले कसैलाई पनि झट्ट चिन्न सकिने अवस्था छैन । प्रहरीले सोधपुछ गर्नु अगाडी नै एक अधबैंसे व्यक्ति गएर प्रहरीसँग केहि अनौपचारिक कुरा गछन् । त्यसपछि प्रहरी हाँस्छन् उनको हाउभाउले भनिरहे झैं लाग्छ,“ए थाहा त पहिल्यै थियो । नचिनेर मात्र । ‘डिस्टेन्स मेन्टेन’ चाहिं गर्नुहोला है ।”त्यसपछि टोली अगाडि बढ्र्छ । ती अधबैंसे व्यक्ति हुन्छन्–सोहि नगरपालिका वडा नंं.९ का वडा अध्यक्ष कुन्दन खड्का । अनि त्यो समूह हुन्छ उनकै नेतृत्वमा लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारलाई राहत बाँड्न हिडेको राहत टोली । 
अधिकांश यूवा छन् । सवै दल यहाँ एकै भएका छन् । सवैका नारा र वाद यहाँ एकै भएका छन् । खास कुरा यस्तो रहेछ, कोरोना कोभिड १९ को कारण सरकारले देशैभर लकडाउन गरेपछि समस्यामा परेका निम्न आर्थिक अवस्था भएका परिवारलाई राहत दिन नगरपालिकाले रु. २५ लाख छुट्याएको रहेछ । यस वडा नंं. ९ लाई जनसंख्याको आधारमा बाँडफाँड गर्दा ७ लाख रुपैयाँ परेको रहेछ । त्यसैले विपन्न परिवार पहिचान गरि राहत बाँड्न यो टोली हिंडेको रहेछ । एउटा कुपन बराबर रु. १ हजारको खाद्यान्न तोकिएको पसलबाट पाईने रहेछ । २ जना परिवार हुनेले एउटा, त्यसभन्दा बढी ३ जनासम्म परिवार हुनेले २ वटा र त्यसभन्दा बढी परिवार संख्या हुनेले ३ वटा कुपन पाउने रहेछन् । जसमा केहि भारतीय नागरिक पनि छन् । पिडा र संकटमा मानवता भन्दा ठूलो भौगोलिक सिमा नहुँदो रहेछ । 
वडा अध्यक्ष कुन्दन खड्का बताउँछन्,“कोहि पनि विपन्न व्यक्ति नछुटुन भन्ने हाम्रो प्रयास छ । डेरामा बस्ने, दैनिक मजदुरी गर्ने व्यक्ति, दलित, अशक्त हाम्रो प्राथमिकतामा छन् । नगरपालिकाले पनि अहिले २५ लाख छुट्याएको छ, यो सकिएपछि नपुगेमा अरु २५ लाख थप्ने योजना बनाएको छ । नत्र हामी पनि विभिन्न दाताहरुबाट संकलन गरेर अन्य उपायबाट बजेट व्यबस्था गरेर यसलाई निरन्तता दिने प्रयासमा छौं ।” 
हुन पनि दाताहरु बिशेषगरि यस क्षेत्रका व्यक्ति, संघसंस्था, बिद्यालय आदी यो काममा प्रतिबद्द रहेको हामी पाउँछौं । अहिले बितरण गरेको राहत सामग्रीले एक महिना पुग्ने अनुमान गरिएको छ । संकट लम्बिएमा वा लकडाउन नखुलेमा धान्न वडाका केहि जोशिला यूवा र प्रतिनिधी तयार छन् –चाहे आफैले खल्तीबाट हाल्न किन नपरोस ! 
रमाईलो कुरा के भने वडा अध्यक्ष कुन्दन खड्कासँगै चुनाव उठेका परक पार्टीका उमेद्वार अनिल थापा पनि सँगै छन् । भन्छन्,“यो समय वाद भन्दा माथी उठेर एक हुने समय हो ।”
गलत ठाउँमा नपरोस् र वास्तविक पिडित नछुटोस् भनेर वडा अध्यक्ष खड्का सिफारिस भएका परिवारको भान्सा मै पुगेर निरिक्षण गरेको देखेपछि हामीलाई पनि लाग्यो –“भनिन्छ, सरकार आँगनमा आउनु पर्छ । तर यो संकटमा यहाँको सरकार त भान्सामै आयो ।” सन्देश राम्रो दिए वडा बासीले, त्यसमा नगरपालिकाको साथ पनि बिर्सिनसक्नु छ ।
राहत बितरण टोलिका सक्रिय व्यक्तिहरुमध्ये एक स्थानीय समाजसेवी एवं नेता प्रभा थापा भन्छिन्,“यो त एक सानो नमूना मात्रै हो । गर्न धेरै बाँकि छ ।” संगै रहेका भागिरथी पन्त सेढाई, रमेश सेढाई पनि स्विकार्छन् ।
बिकाश सामाजिक काम आदिमा राम्रै छवि बनाएको कागेश्वरी मनोहरा नगरपालिका तथा वडाहरु, बिशेषगरि वडा नंं. ९ साँच्चै लकडाउनको साथी बनेको आभाष हुन्छ । अनि मुखमा मास्क र हातमा पञ्जा लगाएर घरघर पुगेका यूवाहरु त्यसका सारथी बनेका छन् । यसबाट अरुले पनि केहि सिक्ने कि ? 

स्रोत: Mero Online

Comments

KATHMANDU WEATHER