Loading...
Logo

लकडाउनमा सडकको फरक कथा

दिपक समिर
“हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरी भएर आउँछ.......” गायक भक्तराज आचार्यले गीत बनाएर गाएको कवि ईश्वर बल्लभको यो रचना । जसमा हरेक प्राणीको पहिलो सपना “बाँच्नु” अर्थात “जिन्दगी” हो भन्ने अर्थ छ । 
संसारमा सबभन्दा बढी माया आफ्नै सपनालाई गरिन्छ । ती मध्ये पनि बाँच्ने सपनालाई । सिङ्गो संसारले नै अहिले यो  प्रमाणित गरिरहेको छ । कोभिड १९ को कारण जीवन जाला भन्ने डर एकातिर छ भने अर्कोतिर एक समूहलाई गाँसको कारण यो डर छ । त्यसमा मानिससँग जोडिएका नजिकको सम्बन्ध भएका केही प्राणिहरु पनि छन् । ती मध्ये यहाँ चर्चा गर्न खोजिएको सडकमा रहेका कुकुरहरुको हो । जसलाई “कम्युनिटी डग” पनि भनिन्छ । मानिसको जीवनशैलीसँग बाँच्ने साइनो भएका सडकमा बस्ने त्यस्ता कुकुरहरु नेपालमा हजारौं छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढि । लकडाउनसँगै यस्ता कुकुरहरुको जीवनशैलीमा भएको कठिनाइ र संघर्षरत जविनशैली कारुणिक छ । जसको लागि खानेकुरा मानिसकै माध्यमबाट आउने गथ्र्यो । तर अहिले बजार र चहलपहल ठप्प भएपछि खानै नपाएर सडकमा मृत्यु कुरेर बसेका थुपै कुकुरहरु हामीले भेट्यौं र जसका केही कारुणिक तस्विर यहाँ राखेका छौं । हरेक तस्विर मन छुने खालका छन् । जो मान्छेले गरेका गल्तीको सजाय विना कारण भोगिरहेका छन् । 


चाहे मानिसलाई रेखदेख र मनोरञ्जन दिएर होस चाहे खेर जाने वस्तु खाएर मानिसलाई सहयोग गरिरहेका यी कुकुरहरुको यो फरक कथा शहरले अहिले सुन्दैन । फुर्सदै फुर्सदको यो समयमा पनि त्यो फुर्सद चाहिं मान्छेलाई छैन । किनकी यो अहिलेको फुर्सद आफै बाँच्ने रहरसँग जोडिएको छ । तर यी अरुबेलाका साथीको बाँच्ने रहर कस्ले बुझ्ने?
सडकका कोही किनारामा कोही बिचैमा कोही समूहमा कोही एक्लै भोको पेट लिएर बसेका छन् । यी निर्दोष प्राणीलाई थाहाछैन संसारले किन यसपाली फरक ब्यवास्ता गर्दैछ ? अरुबेला गाली नै सहि कुनै न कुनै सम्बोधन त हुन्थ्यो तर अहिले त्यो पनि बन्द छ । त्यति बुझ्न सक्ने विवेक भएको भए किन मानिसमा निर्भर भएर बस्थे ? कुनै ठूलो त्रास र परिवर्तनको अनुमान लगाउदै यो शुन्यताको शिघ्र अन्त्यको कामना गर्नु बाहेक यिनीहरुसँग कुनै बिकल्प छैन । 


हाम्रा पौराणिक कथा र इतिहास हेर्दा पनि मान्छे र कुकुरको आत्मीय सम्बन्ध रहेको पाइन्छ । जसले बफादारीताको नमूना पेश गरेर मानिसलाई बिभिन्न संकटमा बचाएको, घरपरिवारको रेखदेख गरेको जस्ता कुराहरु हामीले दैनिक दैखिरहेकै कुरा हो । त्यसमा पनि शहरी जिवनशैलीमा त कुकुर पाल्ने चलन अत्यन्तै लोकप्रिय छ । ती पालिएका कुकुरहरु घरकै सदस्य सरह हुने पनि अनुभव छ धेरैको । त्यसो भए त्यस्तै सदस्यको सडकमा बिचल्ली हुँदै गर्दा, खान नपाएर सडकमै प्राण त्याग गर्नुपर्ने अवस्था आउँदा आफ्ना समस्या समाधानसँगै सामूहिक भएपनि केहीसोच्नु ढिला भएन र ? आखिर यिनलाइ सडकमा पुर्याएको त हामीले नै हो  । नत्र त्यस्तो बफादार, लगनशिल कुकुर सडकमा बस्न त किन रुचाउँथ्यो र ? बाध्यता नै पछि जिवनशैली भएको न हो । 
अर्को दृष्टिबाट हेर्दा सडकमा रहेका यी कुकुरहरु सबै स्वस्थ त पक्कै छैनन् । कति उमेर ढल्केका होलान्, कति बिरामी होलान्, कति सुत्केरी होलान् । लकडाउन लम्बाउदै लैजानु अहिले सिङ्गै विश्वको साझा आवश्यकता हो । यसले यस्ता कुकुरको मृत्यु हुने क्रम बढ्दै जाने पनि निश्चित छ । यसपछि त्यसले वातावरणमा पार्ने असर कसरी ब्यवस्थापन होला ? कतै यसले अर्को महामारी निम्त्याउने त हैन ?
कुकुर मात्र हैन मानिससँग जोडिएका हरेक प्राणिको बारेमा यसरी सोच्नु जरुरी छ । कुकुर खाली प्रतिनिधी पात्र मात्रै हुन् । त्यसैले व्यवस्थापनको उचित र समयानुकूल उपाय अबलम्बन गर्नु आजको आवश्यकता हो , इतिहासले पनि देखाएको छ कि यस्ता ठुला विपदको समय त एकदिन सकिन्छ तर तिनका अरु यसले निम्त्याएका असर सदियौं रहन्छन् । आज हामीले सडकमा देखेका सामान्य कुकुर जो देशका बिभिन्न शहरमा हजारौंको संख्यामा छन् । कतै यी भोली अर्को समस्या बनेर आउने पो हुन् की ! दोष उनीहरुको छैन । सही व्यवस्थापन नहुने हो भने मान्छेको लागि स्वयम् मान्छे त समस्या बनेर आउँछ भने अरु प्राणीको के कुरा ? त्यसैले यस बिषयमा दुई फरक कोणबाट विश्लेषण र प्रयास जरुरी हुन्छ – प्राणी जगतको हितका लागि मानव धर्म र भविष्यमा आफै माथि आउन सक्ने खतरा । तर समयमै कतै ढिला नहोस् । 
शुरु आफुबाटै गरे के हुन्छ ? यो संकटमा अरु केही नसकेपनि हामीले दैनिक पकाउने खाना बाट एक गाँस कटाएर आफ्नो नजिकैका कुकुरहरुलाई दिन सक्दैनौं र ? यो संकटमा त्यो थोरै खाना उनीहरुको जिवन बाँच्ने आधार बन्न सक्छ । 
यी कुकुरका आर्तनाद र भविष्यको बारेमा अरुले नसोचे पनि यिनकै नाममा बजेट र कार्यक्रम ल्याएर बन्दोबस्त गर्नेहरुले चाहिं सोच्नु पथ्र्याे की ? तपाइलाई र तपाइको परिवारलाई बचाउने यी निर्दोष जीवन अहिले सडकमा जीवन, मृत्युको दोसाँधमा छन् महाशय !

 

स्रोत: Mero Online

Comments

KATHMANDU WEATHER