Loading...
Logo

नीलो प्लेटमा अग्रवालको कालो धन्दा, ५ करोडको मालबाट ३० करोड कमाउने यस्तो काइदा

काठमाडौं, चैत्र २६ गते बुधबार ।  नेपालमा ठूला घरमा व्यक्तिहरू अवैतनिक दूत बन्ने, नीलो प्लेटको नम्बर भएको गाडी चलाउने धेरै छन् । कति यसको आडमा अवैधानिक धन्दा चलाउने पनि छन् ।

पछिल्लो उदाहरण हुन् शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल । उनी नीलो प्लेटको गाडीबाट कालो बजारी गर्दागर्दै प्रकाउ परे । उनका दर्जनौँ परिचय छन् । चिनाउने पद नेपाल उद्योग परिसंघको उपाध्यक्ष र किर्गिस्तानको अवैतनिक दूत हो ।

०००

राम्रो कामभन्दा बढी नराम्रो काम गरेर चर्चामा आउने व्यवसायीकाे सूची लामो छ । तर, शक्ति र पहुँचका आधारमा उनीहरूले जति लाभ अरू कसैले उठाउन सक्दैनन् ।

मन्त्री प्रधानमन्त्री सबै रिझाउने खुबी छन् उनीहरूमा । आक्कलझुक्कल जेलमा पनि पुग्छन् तर उनीहरूले पुलिस प्रशासन नै थर्कमान गराउँछन् । कतिपयको त कारबाहीस्वरूप सरूवा नै हुन्छ ।

०००

नाफा कमाउने समय  छिटो चिन्ने कतिपय ठूला घरानाका व्यक्तिहरूको पहिचान हुन्छ । लकडाउनले देशको अर्थव्यवस्था कमजोर बनेको छ । जनता गरिबीतिर धकेलिएका छन् । साना व्यवसायीहरू पलायन हुने अवस्थामा छन् । कति भोकभोकै परेका छन् । यस्तै माैकामा चाैका हान्न सफल पनि बन्दै आएका छन् केही ठूला घराना ।

यिनै समस्यामा पर्नेहरूको नारा लिएर सरकारलाई रिझाउन सक्छन् र धन्दा चलाउँछन् । व्यवसायीको मनोबल बढाउनका लागि मन्त्री बनाइएको दाबी गर्ने उद्योग राज्यमन्त्री तथा उद्योगी मोतिलाल दुडले फागुनकाे अन्तिम साता मन्त्रालयलमा छलफल चलाएका थिए ।

बजार कसरी व्यवस्थित गर्ने, आपूर्ति कसरी सहजीकरण गर्ने, सरकारले के गरिदिए सहज हुन्छ भन्ने विषयमा छलफल थियो । छलफल  नेपालीमा भइरहेकाे थियो । सुलभले भने अंग्रेजीमा आफ्नो विचार व्यक्त गरे ।

उनले समग्र आपूर्ति व्यवस्था कसरी सहज गर्ने भन्नेतिर आफ्नो धारणा केन्द्रित गरेनन् । आफूहरूलाई जिम्मेवारी दिए निर्वाह गर्न सक्ने बताए । केही आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पनि चर्चा गरे । चीन हङकङ, सिंगापुर जहाँबाट जस्तोसुकै अवस्थामा पनि सामान ल्याउन सक्छौँ, जिम्मेवारी दिए हुन्छ भनेर भनाइ सके उनले ।

लकडाउनको घोषणा गर्नुभन्दा अघि अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायीहरू बोलाए । त्यहाँ पनि कसरी आपूर्ति सहज बनाउने र उद्योगमा के गर्‍याे भने कम क्षति हुन्छ र अहिलेको अवस्थामा सरकारलाई व्यवसायीले कसरी सहयोग गर्न सक्छन् भन्ने विषयमा छलफल भएको थियो । अग्रपंक्तिबाट अंग्रेजी भाषामा उनले आफ्नो भनाइ राखे।  उनको आशय थियो जनताको सेवामा १ प्रतिशत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम खर्चिनुपर्ने । यीलगायत उनले अत्यावश्‍यक सामग्री किन्दा भन्सार छुटलगायत माग राखेका थिए ।

पटकपटकको उद्योगीसँगको बहस सरकारले केही छुट दिए स्वास्थ्य सामग्रीको नाममा लिइने सामानमा भन्सार छुट भयो ।

०००

सामान : थर्मल गन

थान : २० हजार

जम्मा खरिद गरेको मूल्य : ५ करोड (१ थानकाे २५ सयका दरले)

भाडा र नाफासहित बिक्री गर्न सकिने मूल्य : ६ करोड   (प्रतिथान ३ हजारका दरले)

बिक्री गरिएको मूल्य : प्रतिथान १५ हजार रूपैयाँ ।

यी तथ्यांकले करिब साढे ५ करोड लगानी गरेर साढे २४ करोड रूपैयाँ नाफा कमाउने प्रयास गरेको देखिएको छ । प्रहरी ग्राहक  बनेरै उनीसँगबाट १५ हजार रूपैयाँमा थर्मल गन किनेको हो । यद्यपि शक्ति र पहुँचको भरमा उनलाई फसाइएको बताउन थालिएको छ ।

उनीसँगबाटै ६७ थर्मल गन नियन्त्रणमा  लिइएको छ । तर, अन्य थर्मल गन बिक्री गरियो वा कहाँ लुकाइयो भन्ने विषयमा उनले खुलाएका छैनन् । खुलाउन मानेका छैनन् । छापा हान्दा पनि भेटिएको छैन।

गलत गरेर सधैँ चर्चामा

बेलाबखतमा यस्तो चर्चामा आउनु अग्रवालका लागि नयाँ कुरा हाेइन । नक्कली भ्याटबिल प्रकरण, मापदण्ड बाहिर गएर होटल निर्माण, विद्युतको बक्यौताजस्ता प्रकरणले उनी प्रायः चर्चामा आइरहन्छन् ।

शंकर ग्रुप २ अर्ब भ्याट छली प्रकरणमा पनि मुछिएकाे थियो । शंकर अक्सिजन ग्यासले आस्था ट्रेडिङलगायत १० वटा नक्कली फर्मको बिल प्रयोग गरेको खुलेको भेटिएको हो । जसले प्यानमा दर्ता गरेकासँग मात्रै सामान किनेको र चेकबाट भुक्तानी भएको दाबी गरेर निर्दोष रहेको प्रमाणित गर्ने प्रपञ्च त गर्‍याे तर तथ्यले त्यस्तो देखिएन ।

ती फर्मबाट जारी बिलहरूमा कुनै पनि वस्तु तथा सेवा खरिद भएको प्रमाण पेस भएन । शंकरलाल अग्रवाल सञ्चालक रहेको कम्पनीले सामान बेच्ने फर्मको सम्पर्क नम्बर र ठेगाना खुलाउन सकेन अनि चेक दिएको भने पनि प्रमाण र विवरण पेस गर्न नसकेपछि राजस्व न्यायाधीकरणले राजस्व प्रशासनले गरेको निर्णय नै सदर गरेको थियो ।

आर्थिक वर्ष २०६७/०६८ मा गरिएको मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिजकसम्बन्धी अनुसन्धानमा एउटा स्टिल उद्योगले काटेका करिब ८० करोड रूपैयाँको बिल आन्तरिक राजस्व विभागले नियन्त्रणमा लियो। शंकर समूहअन्तर्गतको जगदम्बा स्टिल्सबाट नियन्त्रणमा लिइएका बिजकमध्ये ६० करोड रूपैयाँबराबरको बिजक नक्कली काटिएको आन्तरिक राजस्व विभागले ठहर गर्‍यो।

केही वर्षअघि नक्सालमा होटल बनाउँदा पनि अग्रवालले आफ्नो शक्ति देखाए । अवैधानिक रूपले होटल निर्माण गर्दा धेरै तलसम्म खनेका कारण जमिन भासियो । स्थानीयकाे हारगुहार कसैले सुनेन । ४ रोपनीमा बन्न लागेको १४ तले पाँचतारे होटलको जग खन्दा सडक भासिएको थियो ।

शंकर ग्रुपअन्तर्गतकै उद्योगले २०७२ भदौदेखि २०७६ फागुनसम्मको २ अर्ब ६३ करोड रूपैयाँ तिर्न बाँकी छ। प्राधिकरणले कम्पनीको नाममा फागुनसम्मको बिल काटिसकिएको छ । प्राधिकरणको निर्णयविरूद्ध शंक्रर ग्रुप अदालत गयो तर अदालतले रिट नै खारेज गरिदियो । 

राज्य बलियो हुँदा

भलै पुलिस प्रशासनले उनलाई एक रात जेलमा हिरासतमा राख्न सफल भएको छ । तर, मंगलबार साँझ नै ठूला घरानाका व्यापारीहरू पुगेर उनलाई छुटाउने कसरतमा लागेका छन् । व्यवसायीले पाएको प्रतिवद्धताअनुसार उनी बुधबार १० लाख रूपैयाँ जरिमाना तिरेर छुट्दै छन् । साढे ५ करोड लागतको सामान ३० करोडमा बेच्न पाएका उनका लागि १० लाख ठूलो कुरै भएन । हुन त अदालतले उनलाई १० लाख रूपैयाँ जरिमानासहित १ वर्षसम्म कैद पठाउन सक्ने कानुनी व्यवस्था छ । कालो बजारी ऐन २०२३ ले यस्तो व्यवस्था गरेको छ ।

राज्य बलियो भएकाे हाे भने २१ चैतमा उनले नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत ल्याएका सबै सामानको प्रज्ञापनपत्र हेरर जफत गर्न सक्नुपर्छ । त्यसो हुँदा बजारमा अभाव पनि टर्ने व्यवसायीहरूले नै बताएका छन् । र, यही मौकाका अवैधानिक व्यापार र कालो बजारी गर्ने गिरोहमाथि पनि छानविन गरेर कारबाही गर्न सक्नुपर्छ ।

 यस्तो छ व्यावसायिक राज

शंकर ग्रपअन्तर्गत ४० भन्दा बढी कम्पनी छन् । स्टिल, माइनिङ, रियल स्टेट, हस्पिट्यालिटी, सिन्थेटिक्स, अटोमोबाइल तथा निर्माण सामम्री, लगानी, सिमेन्ट क्षेत्रमा यो ग्रुपले लगानी विस्तार गरेको छ । जगदम्वा स्टिल र सिमेन्ट विशेष चर्चामा  छन् ।

स्रोत: Shilapatra.com

Comments

KATHMANDU WEATHER