अलपत्र परेका पैदालयात्रीलाई प्रदेश सरकारले खानबस्न दिएर घर पुर्याइदिने
मेरो अनलाइन
काठमाडौं, बैशाख ५ गते शुक्रबार । प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान हिंडेर प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तव्यसम्म पुर्याइदिने ब्यवस्था गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले सुरक्षा निकाय र स्थानीय तहहरुलाई राजमार्ग हुँदै प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिनुभएको हो ।
पोखरेलका अनुसार घर जाने क्रममा हिडेर प्रदेश ५ को सडकमा पुगेका नागरिकलाई क्वारेन्टाइनमा राखेर निशुल्क खाने ब्यवस्था गरिएको छ । उहाँले प्रदेश ५ मा आइपुगेका जोकोहीलाई क्वारेन्टाइनमा गएर बसीदिन अनुरोध पनि गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन अनुरोध गर्नुभएको हो । उहाँले लेख्नु भएको छ ‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’

प्रदेश सकारले शुक्रबारदेखिनै पूर्वबाट आएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको छ । सुरुमा एक सय जनाको लागि व्यवस्था गरिएको र मान्छेको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
विभिन्न ठाउँबाट हिँडेर त्यहाँ पुगेकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि सबैको विवरण लिएर जो जुन ठाउँमा हुन् उनीहरुलाई प्रदेशभित्रका स्थानीय तहसँग समन्वय गरी गन्तव्यसम्म पुर्याउन पनि प्रदेश सरकारले नै समन्वय गर्ने जनाइएको छ ।

Comments