Loading...
Logo
Image

भुकम्पपछीको पुनर्निर्माणमा उल्लेखनीय उपलब्धी- राष्‍ट्रपति

काठमाडौं, बैशाख १२ गते शुक्रबार । राष्‍ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अंगभंग भएकाहरुको सहज जीवनको कामना गरेकी छन्।

आज राष्‍ट्रपति भण्डारीले जारी गरेको सन्देशमा २०७२ वैशाख १२ को भूकम्पलगत्तै उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुननिंर्माणमा उदाहरणीय काम गर्न सफल भएको  उल्लेख छ।  

“प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्‍टको परवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु”, राष्‍ट्रपतिको सन्देशमा भनिएको छ, “भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्‍व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनर्निर्माणमा पनि उल्लेखनीय उपलब्धी हासिल भएका छन्, यसै सन्दर्भमा पुनर्निर्माण पुनःस्थापनाका कार्यमा लाग्नु हुने र सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।” 

“सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न सकिन्छ,” सन्देशमा भनिएको छ, “भूकम्पपछिको राहत, उद्धार तथा पुनर्निर्माणका सिकाइले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन र भविष्‍यमा विपद्‍बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउने छ भन्‍ने विश्‍वास लिएको छु।”

Comments

KATHMANDU WEATHER