Loading...
Logo
Image

पीसीआर मेसिनको रिपोर्ट नै गलत, जनकपुर अस्पतालमा स्वाब परीक्षण रोकियो

काठमाडौं, बैशाख १२ गते शुक्रबार । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाव परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पीसिआर परीक्षण कार्य स्थगित गरिएको हो ।

सर्लाहीका १४ वर्षीय किशोरमा पीसीआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिकित्सकले गरेका छन् । त्यसैले चेकजाच कार्य आजबाट बन्द गरिएको अस्पतालले जनाएको छ । 

जनकपुरधाममा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक किशोरको रिपोर्ट बिहीबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरीय माथि नै शंका उत्पन्न भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार फरक नतिजा आएपछि ती सबै नमूना शंकाको घेरामा परेका छन् ।


प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामवीनय साहले फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारण रहेको बताए । कम गुणस्तरको मेसिन जडान भएकाले भरपर्दो नतिजा आउन नसकेको उनले बताए ।

‘एक सयभन्दा बढी स्वाब परीक्षण गरिसकेका छौँ । पीसीआर मेसिन भरपर्दो छैन’ उनले भने, ‘सही परिणाम नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ छैन ।’

उनले सर्लाहीकै किशोरको घटनामा आफूहरूले २ पटक स्वाब परीक्षण गरिएको र दुवैपटक नेगेटिभ देखाएको तर टेकुले पोजिटिभ देखाएपछि मेसिनमा समस्या रहेको पुष्टि भएको बताए । निमित्त निर्देशक साहका अनुसार यसअघि १५ स्थानमा जडान गरिएका यस्तै मेसिन हटाएर बढी क्षमताका पीसीआर मेसिन जडान भइसके पनि प्रादेशिक अस्पतालमा भने जडान गरिएको छैन ।

नयाँ मेसिन जडान गर्न सम्बन्धित निकायलाई जानकारी गराइसकेको समेत साहले जानकारी दिए । अस्पतालका सेवानिवृत्त वरिष्ठ ल्याब टेक्निसियन अरुणकुमार मल्लिकले नमुना संकलन, परीक्षण प्रक्रिया, मेसिनको गुणस्तर र प्राविधिकको कार्य क्षमताले नतिजा फरक पर्ने सक्ने बताए । मेसिनले सही काम नगरेको भन्दै शुक्रवारदेखि परीक्षण रोकिएको छ ।

‘हिजो हामी प्रयोगशालामा परीक्षण गर्दै गर्दाको अवस्थामा काठमाडौंको रिपोर्टबारे थाहा पायौँ,’ प्रयोगशालाका एक जना कर्मचारीले भने, ‘हाम्रो परीक्षणमा नेगेटिभ तर टेकुको परीक्षणमा पोजिटिभ आउनु भनेको कहीं न कहीं कुनै न कुनै किसिमको गडबडी छ भन्दै हामीले परीक्षणको काम रोकेका हौँ ।’

चैत्र २१ गतेदेखि उक्त मेसिनबाट परीक्षण शुरू गरिएको थियो । हालसम्म ९२ वटा परीक्षण जनकपुरमा गरिएको छ । जनकपुरमा रुपैयाँ फालिएको भनिएको २ जना महिलाको आरडीटी गर्दा एक जनाको पोजिटिभ आएको थियो ।

त्यसैबेला सर्लाहीका समेत १ जाना युवाको आरडीटी  गर्दा पोजिटिभ आएको थियो । परीक्षणमा उनीसहित ५ जनाको थ्रोट तथा नसल स्वाब लिएर परीक्षण गरिएको थियो । सामाजिक सञ्जालमा समेत उक्त कुराको व्यापक चर्चा भएका कारण गम्भीरता बुझेर नै दुवै स्वाब लिइएको थियो । त्यस अघिसम्म जनकपुधामरबाट हुने गरेको स्वाब संकलनमा थ्रोट स्वाब मात्र लिने गरिन्थ्यो । नसल स्वाब लिने गरिएको थिएन ।

जनकपुरमा परीक्षण गर्दा नेगेटिभ नै रिजल्ट आएको थियो । ‘आरडीटी परीक्षणमा पोजिटिभ आएका कारण यसमा नेगेटिभ किन आयो भनेर क्रस भेरिफाइ गर्न हामीले दोस्रो पटक पुनः पीसीआर परीक्षण गरेको,’ साहले भने, ‘तर फेरि पनि दुवैमा दोहोर्‍याएर नेगेटिभ नै आएको थियो ।’ तर, शंका नमेटिएकोले थप परीक्षणका लागि स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र त्यहाँबाट रिजल्ट पोजिटिभ आएको थियो ।

परीक्षण गर्न नै आउँदैन वा विधिमा नै कुनै किसिमको कमजोरी त भइरहेको छैन भन्ने विषयमा उनले भने, ‘माइक्रो बायोलोजी र भाईरोलोजीमा स्नातक, स्नातकोत्तर उत्तीर्ण गरेका, राष्ट्रिय प्रयोगशालामा काम गरिसकेका, रियल टाइम पीसीआर मेसिन चलाएको अनुभव भएका ४ जना मानिसबाट परीक्षण गराइरहेका छौँ । काठमाडौंबाट मेसिन जडान गर्न समेत दुईजना विज्ञ आएका थिए ।'

‘उनीहरू ७ दिनसम्म आफैँ उपस्थित भएर जनकपुरधामका जनशक्तिबाट परीक्षण गर्न लगाएका थिए,’ साहले थपे, ‘त्यति मात्र होइन काठमाडौंका प्राविधिकहरूसँग भिडियो कन्फरेन्ससमेत हुन्थ्यो ।’  

मेसिन सही छ वा छैन भन्ने कुराको अनुसन्धान गर्नुपर्ने उनले बताए । ‘हामीले मेसिन किनेको होइन, राष्ट्रिय प्रयोगशालाले पठाएको हो,’ साहले भने, ‘भेलिडेसन गरेर पठाएको होइन की भनेर पनि हामीले भन्न मिल्दैन ।’

प्रयोगशाला जनकपुरमा कुल १८ वटा नमूना क्रस भेरीफिकेसनका लागि काठमाडौं पठाइएको थियो, तीमध्ये सबै नेगेटिभ नै आउने गरेको थियो ।

जनकपुरको मेसिनबाट गरिएका परीक्षणको भरोसा नभएका कारण त्यहाँबाट गरिएका ९१ वटै परीक्षणको फेरि पनि स्वाब संकलन गरेर परीक्षण गरिनु आवश्यक रहेको जानकारहरु बताउँछन् ।

‘अब यहाँको मेसिनबाट गरिएको परीक्षणको कुनै भर नै नरहेको कुरा प्रमाणित भइसकेका कारण सबै जनालाई खोजेर पुनः परीक्षण गर्नु पर्छ,’ ती जानकार चिकित्सकले भने, ‘जसरी हिजोको सर्लाहीको युवालाई नेगेटिभ भनेर अस्पतालबाट डिस्चार्ज गरिएको थियो र उनी संक्रमित नै भएका कारण थप मानिसहरुमा संक्रमण फैलिएको हुन सक्ने सम्भावना रहन्छ, त्यसैगरी नेगेटिभ आएका अन्य मानिसमा पनि पोजिटिभ हुन सक्ने सम्भावना भएकाले पुनः परीक्षण गर्नु आवश्यक छ ।’

स्रोत: Shilapatra.com

Comments

KATHMANDU WEATHER