Loading...
Logo
Image

जोखिममा श्रमिकः सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस

सीता शर्मा

काठमाडौँ, वैशाख १९ गते शुक्रबार । झन्डै डेढ महिना लामो बन्दाबन्दी (लकडाउन) ले सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गर्नेेदेखि विदेश वा स्वदेशमा श्रम गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । यो वर्ग स्वदेश होस् वा विदेशमा होस् एकातिर कोरोनाको जोखिम र अर्कोतिर आफूसहित परिवारको लालनपालनको दोहोरो समस्यामा छ ।
यस्तै मध्येका हुन खोटाङमा स्थायी घर भई हाल कीर्तिपुरमा परिवारसहित डेरा गरेर राजधानीका विभिन्न ठाउँमा निर्माण मजदुरका रूपमा काम गर्ने विकास राई । उनले काम नगरेको ३८औँ दिन भइसक्यो । दुई छोराछोरी श्रीमतीसहित कीर्तिपुरको वडा नं. ३ मा डेरा गरी बस्ने राईले घरधनीको सिफारिसमा राहतको रासन पाइन्छ भनेर नाम पनि लेखाए, 'त्यहाँ पनि पहुँच चाहिँदोरहेछ, स्थानीयवासी परिन, खोटाङको परियो कसले गन्छ ?ʼ उनले भने ।
राई जस्तै धादिङ स्थायी घर भई कीर्तिपुरको फर्निचर पसलमा भरियाको काम गर्दै आएका कुमार थापाको पनि समस्या उस्तै छ । थापा स्थानीय तहबाट रासन पाइन्छ भनेर घरधनीको सिफारिस बनाएर गइयो तर नागरिकता चाहिँदोरहेछ, नागरिकता नभएपछि पाइँदैन भनेर रासन नै दिएनन्, गरिबका दुःख, समस्या कसले सुन्छ र ! भन्छन्  ।
काठमाडौँको कीर्तिपुरमा सानो खाजा पसल चलाएर बसेकी मकवानपुरकी कमला खड्कालाई अहिलेको अभाव र समस्या कहिल्यै सामना गर्नुपरेको थिएन । १५÷१६ वर्षदेखि खाजा पसल चलाएर तीन छोराछोरीसहित आफ्नो सबै खर्च धान्दै आएकी उनलाई बन्दाबन्दीले भाडा तिर्न र परिवारको खर्च धान्नै गाह्रो भएको छ । उनीहरूका पीडा र समस्या त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् ।
सार्वजनिक यातायातमा काम गर्ने मजदुर, स्वरोजगार श्रमिकदेखि उद्योग वा सानादेखि ठूला पाँच तारे होटल सम्ममा काम गर्ने कर्मचारी वा मजदुर लगायत सबै कामविहीन भएका छन् । वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका लाखौँ युवाको अवस्था अझै दर्दनाक र डरलाग्दो छ ।
विदेशमा पनि बन्दाबन्दी भएकाले रोजगारीका लागि गएका हजारौँको सङ्ख्याका श्रमिक कामबाट निकालिएर बेखर्ची भई उद्धारको पर्खाइमा छन् । वैदेशिक रोजगार विभागका अनुसार २५ लाखभन्दा बढी युवा रोजगारीका लागि मलेसियासहित खाडीमा रहेका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेस एवं संयुक्त ट्रेड युनियन महासङ्घ समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले कोभिड–१९ को जोखिममा स्वदेशमा होस् वा विदेशमा होस् सबैभन्दा श्रमिक वर्ग मर्कामा परेकाले यसमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिकलाई कोभिड–१९ विरुद्ध सहजै परास्त गर्ने क्षमता प्राप्त होस् भनी शुभकामना दिए ।
कुराकानीमा मन्त्री यादवले बन्दाबन्दीले श्रमिक वर्गलाई बढी समस्या परेको विषयमा सरकार गम्भीर एवम् संवेदनशील भएको र यसको समाधानका लागि सरोकारवालसँग छलफल गरी सही बाटोको खोजीकै क्रममा रहेको जानकारी दिए ।
सरकारले कहिल्यै पनि श्रमिक वर्गलाई तल पार्ने खालका निर्णय नगर्ने बताउँदै उनले सरकार वा श्रम मन्त्रीको हैसियतले जे जति निर्णय गर्छौं ती सबै श्रमिक वर्गकै पक्षमा गरिने प्रतिबद्धता व्यक्त गरे । रासस

Comments

KATHMANDU WEATHER