ताप्लेजुङको फुङ्लिङ बजारमा आगलागी, ८ घर जलेर नष्ट
मेरो अनलाइन
मेरो अनलाइन
ताप्लेजुङ, बैशाख २० गते शनिबार । ताप्लेजुङ फुङलिङ बजारमा आगलागी हुँदा ८ घर जलेका छन् । पुरानो बैंक लाइन क्षेत्रमा राति करिब साढे १० बजे आगलागी हुँदा ८ घर जलेका तथा नजिकै रहेका अन्य दुई घर भत्काइएको स्थानीय प्रहरीले जनाएको छ। पछिल्लो १६ वर्षको अवधिमा यो पाँचौ पटकको आगलागी हो ।
शुक्रबार राती १० बजेबाट शुरु भएको आगलागी करिव अढाइ घण्टापछि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । आठ घर आगलागीले नष्ट हुँदा पसल व्यवसाय सञ्चालन गर्दै आएका समेत करिव ३३ परिवार विस्थापित भएका प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
भण्डारी खाजा घर आसपासबाट आगलागी सुरू भएको स्थानीयले बताएका छन् । प्रारम्भिक जानकारीअनुसार टेकबहादुर लेछर्बो, बिष्णु केसी, अमृत कार्की, खेम केसी, नेत्र कार्की लगायतको घर ध्वस्त भएको छ । आगलागी भण्डारी खाजाघरको किचनबाट सुरु भएको स्थानीयले बताए पनि कुन घर र के कारणले आगलागी भएको हो भन्ने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी जनाएको छ ।
यसअघि २०६० चैत १५ गते फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकमा भएको आगलागीमा हुँदा ४५ घर जलेको थियो । त्यस्तै २०६९ साल माघ २६ शेर्पाटोलमा आठघर जलेको थियो । २०७० साल कात्तिक १८ गते टुक्रेबजारमा आगलागी हुँदा पाँच घर जलेको र २०७१ चैत ९ गते तोक्मेबजार क्षेत्रमा भएको आगलागीमा ४४ घर जलेको थियो ।
फोटो : रासस

Comments