Loading...
Logo
Image

अनुदानको नुन पनि प्रतिकिलो ६० रुपैयाँ !

काठमाडौं, बैशाख २० गते शनिबार । जाजरकोट  जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ ।

जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने आयोडिनयुक्त नुन बारेकोट गाउँपालिकामा भने प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । गाउँपालिकाको मुकाममा सडक पुगे पनि लकडाउनका कारण गाडी चलेकोले खच्चडले ढुवानी गरेर लुकिछिपी महँगोमा बिक्री गरिएको हो ।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको डिपोबाट दुई सय क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ ।

स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलब्ध नगराएपछि स्थानीय महँगोमा नुन किन्न बाध्य भएका हुन् ।

जाजरकोटमा आयोडिन युक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदानका कारण नुन सदरमुकाम र डिपोमा प्रतिकेजी ९ रुपैयाँमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् ।

लकडाउनका कारण गाडी चल्दैनन्, प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ ।

दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ ।

बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० र माथिल्लो भेगतिर ६० मा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ ।

स्रोत: Online Khabar

Comments

KATHMANDU WEATHER