Loading...
Logo
Image

राहत वितरणको क्रममा सिराहामा झडप हुँदा डिएसपी सहित ५ घाइते

सिरहा, बैशाख २२ गते सोमबार। लकडाउनको मारमा परेका विपन्न, मजदुर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहाकाे फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो।

झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

झडपका क्रममा चारजना स्थानीयवासी सामान्य घाइते भएको र उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

मिर्चैया नगरपालिका-७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले विरोधमा उत्रेका स्थानीयवासी रामेश्वर यादवले बताए।

वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली संकलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा  स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको रामेश्वरकाे भनाइ छ।

यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरीब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिकरूपमा विवाद सिर्जना गर्न खोजिएको बताए ।

Comments

KATHMANDU WEATHER