Loading...
Logo
Image

उपत्यका प्रवेश गर्दा आफ्नै कोठामा प्रवेश निषेध !

काठमाडौं, जेठ १ गते बिहीबार । ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’

साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने र क्वारेन्टाइनमा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने चेतावनीसमेत सूचनामा दिइएको छ ।

जबकी सरकारले वैशाख २६ बाट लकडाउनको मोडल फेर्दै उद्योगधन्दा, बैंकहरु खोल्न अनुमति दिएको छ । अनुमति पाएका व्यवसाय सञ्चालन भएका छन् भने निर्माणका कामहरु पनि पुनः सुरु भएको छ । यससँगै लकडाउनको समयमा उपत्यका छाडेर गएकाहरु काम गर्न उपत्यका फर्किन थालेका छन् ।

कतिपयले आफ्ना कर्मचारी आफैं ल्याएका छन् त, कतिपय तरकारी, खाद्यान्य, दुध जस्ता अत्यावश्यकीय वस्तु ढुवानी गर्ने गाडी चढेर आएका छन् ।

तर, यसरी आएकाहरुलाई घरमा प्रवेश नदिन वडा कार्यालयहरुले भने उर्दी जारी गरेको छ । किन त ? ललितपुर ६ का वडाध्यक्ष शाक्यले भने, ‘लकडाउनका बेला गाउँ गएकाहरु घरधनीलाई थाहा नदिएर आउन थाले । यसरी आउँदा अरुले असुरक्षित महसुस गर्न थाले ।’

उपत्यका बाहिरबाट आएकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराउने प्रयास पनि नभएको होइन । तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका उनीहरुलाई कुनै लक्षण देखिएको छैन भनेर फर्काइने गरेको छ ।

र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरटीडी)बाट परीक्षण गर्न उपत्यका प्रवेश गरेको १४ दिन पर्खिनुपर्ने हुन्छ । त्यसैले घरधनीलाई जिम्मेवार बनाउनुको विकल्प नभएकाले यस्तो चेतावनीपूर्ण सूचना जारी गर्नुको परेको वडाध्यक्ष शाक्यले बताए ।

शाक्य मात्र होइन, ललितपुर ९ का वडाध्यक्ष राजु महर्जन पनि अहिले यस्तै समस्याले हैरान भएका छन् । ‘लकडाउनका क्रममा बाहिर गएका कोही आयो कि स्थानीय युवाहरु विरोधमा जम्मा भइहाल्छन् र हामीलाई बोलाउँछन्’ महानगरका प्रवक्तासमेत रहेका महर्जनले भने, ‘जहाँबाट आएका हुन्, उतै फर्काउनुपर्छ । नभए हामी कसरी सुरक्षित रह्यौं भन्छन् । स्थानीयबासीले मान्दै नमानेपछि मैले त १०/१२ जनालाई फर्काएँ पनि ।’

उनले पनि उपत्यका बाहिरबाट आएकाहरुलाई परीक्षण गर्न पठाउने प्रयास पनि गरेका थिए । तर टेकु अस्पताल पुगेकाहरुलाई केही भएको छैन भनेर फर्काइने गरेको छ ।

त्यसैले स्थानीय जनप्रतिनिधिहरु समस्यामा रहेको भन्दै वडाध्यक्ष महर्जन भन्छन्, ‘यति गाह्रो त हिजो बिहान बेलुकी खाना खुवाउँदा पनि भएको थिएन ।’

काठमाडौं महानगरपालिका वडा नम्बर १० ले पनि बाहिरबाट कोही आएको भए खबर गर्न माइकिङ गर्ने गरेको छ । पछिल्लो समय मानिसहरु फर्किन थाल्दा असुरक्षा बढेकाले यसो गर्नु परेको वडाध्यक्ष रामकुमार केसी बताउँछन् । उनले भने, ‘हाम्रो आग्रह अहिले सकेसम्म नआउनुस् भन्ने नै हो । यदि कोही आइसक्नु भएको छ भने पनि परीक्षण गराउनुस् भनेका छौं ।’

उनकाअनुसार उपत्यकाबाहिरबाट आएकाहरुलाई वडाले पत्र लेखेर नै परीक्षणका लागि टेकु पठाउने गरेको छ । सुरुमा केहीलाई परीक्षण गरे पनि केहीको भएन । आफूहरुले एम्बुलेन्समा हालेर पठाउने तर टेकुमा चेक नगर्ने गरेको विषयमा महानगरसँग कुराकानी गरेपछि अब भने वडाले लिखित पत्रसहित पठाएकाहरुको परीक्षण हुने वडाध्यक्ष केसीले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलकाअनुसार उनलाई पनि ‘फलाना आयो, फलाना आयो’ भनेर दैनिक २०० बढी फोन आउँछ । ‘पहिला हामीले यहीँ बस्नुस् । राहत दिन्छौं भन्दा घर जाने वातारवरण बनाउनुपर्यो भन्नुभयो, कतिपय हिँडेरै पनि जानुभयो’ काठमाडौं महानगरका प्रवक्ता समेत रहेका महर्जन भन्छन्, ‘अहिले सरकारले उद्योगधन्दा खोल्ने, निर्माणका काम गर्न दिने भन्दा उपत्यकाभित्र काम गर्न पाइने भयो भनेर धेरै मान्छे आएका छन् । यसले ठूलो समस्या सिर्जना गरेको छ ।’

एकैदिनमा ठूलो संख्यामा मानिसहरु आउन थालेकाले अब उपत्यका प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुको विकल्प नभएको प्रवक्ता डंगोलले सुनाए ।

स्रोत: Online Khabar बाट साभार

Comments

KATHMANDU WEATHER