Loading...
Logo
Image

नेपालमै कोरोना भाईरसको अनुसन्धान शुरु भयो

४० वटाभन्दा बढी कोभिडको अनुसन्धान

कोरोना भाइरस (कोभिड– १९) को अनुसन्धान नेपालमै गरिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको अनुसन्धान गरिरहेको हो ।

परिषद्ले ४० वटाभन्दा बढी कोभिडको अनुसन्धानका लागि स्वीकृति दिएको छ । १० वटा कोभिडको अनुसन्धान परिषद्ले नै गरिरहेको छ । ‘कोभिडका ४० वटाभन्दा बढी अनुसन्धान गर्न स्वीकृति दिएका छौँ,’ परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले भने, ‘१० वटा परिषद् आफैँले गर्दै छ ।’

जिन सिक्वेन्सिङ नेपालमै


जिन सिक्वेन्सिङ पनि नेपालमै हुने भएको छ । कोभिड– १९ रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा के छ ? कस्तो भाइरस हो  ? भाइरसमा कस्तो प्रकारको उत्परिवर्तन छ ? अन्य देश र नेपालमा भएको भाइरस कस्तो हो भनेर हेर्न जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । 

‘नेपालमै भएका ल्याबसँग मिलेर काम गर्ने हो । केही सरकारी क्षेत्रमा पनि छन् । केही प्रभाइभेट क्षेत्रमा पनि छन् । सबै प्राज्ञ मिलेर अनुसन्धान गर्ने हो,’ उनले भने, ‘नेपालमा भएको कस्तो खालको भाइरस हो, त्यो हेर्न सिक्वेन्सिङ गर्नुपर्छ । ’

तीन प्रकारको भाइरस 

अहिलेसम्मको अनुसन्धानने ३ प्रकारको भाइरस देखिएको उनले बताए । 

‘विभिन्न अनुसन्धानले ३ खालको भाइरस देखिएको छ,’ उनले भने, ‘ए, बी, र सी भाइरस छ । त्यसमा ए चीनमा देखिएको, बी एसियन मुलुकमा र सी युरोप अमेरिकाको हो ।’

विभिन्न ठाउँमा देखिएको भाइरसको रूप पत्ता लगाउन र त्यसैका आधारमा भ्याक्सिन बनाउन पनि सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । 

भ्याक्सिन बनाउन सिक्वेन्सिङ

‘अरु देशले बनाएको भ्याक्सिन यहाँ काम लाग्छ कि लाग्दैन ? संक्रमितमा फरक–फरक लक्षण देखिएको छ । हावापानी, रहनसहन वा के कारणले हो, त्यो पत्ता लगाउन आवश्यक छ,’ डा. धिमालले भने, ‘यसका लागि अनुसन्धानको काम भइरहेको छ । केही दिनभित्र केही न केही रिपोर्ट आउँछ ।’

बायोलोजिकल स्याम्पल बाहिर जानु हुँदैन

पहिलो कोरोना संक्रमितको जिन सिक्वेन्सिङ बाहिर गरिएको खबर सार्वजनिक भएको छ । यो विषयमा अहिले सम्बन्धित निकायले छानबिन गरिरहेकाे छ । तर, वायोलोजिकल स्याम्पल बाहिर लान नहुने डा. धिमाल बताउँछन् । 

‘वायोलोजिकल स्याम्पल बाहिर जान दिनु हुँदैन,’ उनले भने, ‘ नेपालमै गर्नुपर्छ । तर, अनुसन्धान अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ । गुणस्तरीय हुनुपर्छ । यदि कसैले बाहिर लगेर सिक्वेन्सिङ गर्छ भने नियमअनुसार कारबाही गर्नुपर्ने हुन्छ । त्यसरी बाहिर लैजान परिषदको स्वकृति लिनुपर्ने हुन्छ ।’

धेरैको गर्नुपर्छ सिक्वेन्सिङ

नेपालमा अहिलेसम्मका संक्रमित कोही चीन, कोही भारत, कोही युरोपबाट आएका छन् । त्यसैले धेरैको जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । ‘देशअनुसारको भाइरस फरकफरक हुन सक्छन्,’ डाक्टर धिमालले भने, ‘कहाँको कमजोर छ, कहाँको कडा छ, त्यो हेर्नुपर्ने हुन्छ । त्यसैले धेरैको सिक्वेन्सिङ गर्नुपर्छ ।’

परिषद्को स्वीकृतिविना अनुसन्धान भए के कारबाही हुन्छ ?

कसैले अनुसन्धान गर्न चाहेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको स्वीकृत लिनुपर्छ । परिषद ऐन २०४७ बमोजिम मानव स्वास्थ्यको अनुसन्धान गर्नुपरेमा परिषदको स्वीकृत लिनुपर्ने हुन्छ । 

साे ऐनअनुसार परिषदबाट स्वीकृति नलिई अनुसन्धान गरेमा कानुनअनुसार कारबाही हुनेछ । पहिलो चरणमा प्रस्टीकरण सोधेर सचेत गराउने, अनुसन्धान भइरहेको भए रोक्ने र अनुसन्धान सकिएर जर्नल निकालेको भए त्यो खारेजसम्म हुन सक्छ । जर्नल प्रकाशश भएको खण्डमा विथ ड्र गरिएको छ भनेर कालो अक्षरले लेखिन सक्ने ऐनमा उल्लेख छ ।

स्रोत: Shilapatra.com

Comments

KATHMANDU WEATHER