Loading...
Logo
Image

भारतबाट आएका नेपालीलाइ राख्न थप क्वारेन्टिन निर्माण

राजविराज, जेठ ५ गते सोमबार । भारतमा विभिन्न पेसामा रहेका नेपाली फर्किन थालेपछि कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै चुनौती थपिएको छ । भारत सरकारले लकडाउन बीच रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका छन् । भारतको सङ्क्रमित स्थानहरूबाट समेत विद्यार्थी, मजदुर, व्यवसायीलगायतका मानिसहरू फर्किन थालेपछि सङ्क्रमणको उच्च जोखिम बढेको हो । पछिल्लो एकसाता यतादेखि रेलमार्गबाट आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले मूल बाटोबाट सीमा पार गराउने गरेको हुँदा उनीहरूको व्यवस्थापनमा चुनौती पनि थपिएको छ ।

भारतबाट बिहान, दिउँसो, बेलुका, राति जुनसुकै बेला नेपाल भित्रिने गरेकोले सीमानाकामा उनीहरूको विस्तृत व्यक्तिगत तथ्याङ्क (बायोग्राफी) राख्नको लागि सीमावर्ती सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले व्यवस्थापनमा सक्रिय भएको छ । भारतबाट आउने नेपालीको लागि नेपाली सीमामा तत्काल अस्थायी क्वारेन्टाइनसरह खाना नास्तासहितको सिमानाका बेलही (कुनौली भन्सार) मा अस्थायी विश्रामगृह निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

पारिबाट आएका नेपालीलाई तत्काल विश्रामगृहमा आराम गर्न लगाई कम्तीमा नास्ताको प्रबन्ध गर्ने उनले भने, 'यसरी आउने नेपालीको नाम ठेगाना, सम्पर्क नम्बर, समूहमा आएको मानिसहरूको विवरणसहित यात्रा वृत्तान्त राख्ने व्यवस्था गरेको छौँ ।' स्वास्थ्यकर्मीको टोलीले ज्वरो परीक्षणपश्चात उनीहरूलाई सम्बन्धित नगर/गाउँपालिकासँग सम्पर्क गरी क्वारेन्टाइन पठाइने गरेको अध्यक्ष सिंहको कथन छ ।

भारतबाट आउने नेपालीलाई सीधै घर नपठाई क्वारेन्टाइनमा पठाउनु, स्वास्थ्य परीक्षण गर्न, र विस्तृत विवरण तयार पर्दासम्म सडककै घामपानीमा बस्दै आउँदा थप पीडा भइरहेकोले यस्तो व्यवस्थापन कार्यको सुरु गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए।

स्रोत: Gorkhapatraonline

Comments

KATHMANDU WEATHER