Loading...
Logo
Image

कर प्रणालीको कारण देखाउँदै गोपीकृष्ण सिनेमा हल बन्द गर्ने निर्णय

गोपीकृष्ण मुभिज प्रालिले काठमाडौंको चाबहिलमा रहेको २८ वर्ष पुरानो गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् ।

चलचित्रकर्मी, हाल राप्रपा नेता उद्धव पौडेलको अगुवाइमा यो हल २०५२ सालमा स्थापना भएको थियो । पौडेलले यसलाई सिनेमाको निर्माण, प्रदर्शन र वितरण गरी तीनै विधामा गनेचुनेको व्यवसायिक घरानाका रूपमा स्थापित गरेका थिए । २८ वर्षअघि स्थापना भएको यो हल नेपाली फिल्म प्रदर्शनको इतिहास बोकेको यो हलको मुख्य संरचना कोरोना लकडाउनपछि भत्काइएको थियो । कुल सात हलबाट भत्काएर दुई अडिटोरियम मात्र बाँकी थियो । बाँकी दुईवटा हल पनि बन्द गर्ने निर्णय लिइएको हो ।

कोरोनाकालमा लगभग सबै व्यवसायमा ठूलै असर पुग्यो । गोपीकृष्णले पनि सानोतिनो आर्थिक नोक्सानी बेहोरेन । यसबाहेक आयकर, मनोरञ्जन कर, भवन, जग्गाको करमा जरिवानासहित गर्दा हलले राज्यलाई बुझाउनुपर्ने कर बढेको बढ्यै भयो । राज्यको विद्यमान कर प्रणालीले गर्दा पनि व्यवसाय बन्द गर्नुपरेको प्रबन्ध निर्देशक पौडेलले बताए । दर्शक मल्टिप्लेक्सतिर जान थालेपछि यस्ता हल एकपछि अर्को गर्दै बन्द हुने थाले । गोपीकृष्ण जसोतसो चलिरहेको थियो । मल्टिप्लेक्समै जान पनि यसका सञ्चालकले प्रयास नगरेका होइनन् । कोरोनापछि नयाँ बनाउने भनेर भवन भत्काइएको पनि थियो । तर नजिकै विद्युत प्रशारण लाइन (हाइटेन्सन) भएकाले याे कठिन थियाे । पछिल्लो समय तीनवटा थिएटरमा सिनेमाको प्रदर्शन हुँदै आए पनि दर्शकको संख्या न्यून हुने गरेको थियो ।

करकै विषयलाई लिएर गोपीकृष्णलाई महानगरका अधिकारीले ताकेता गर्दै आएका छन् ।  कर तिराउन भन्दै महानगरका अधिकृतहरु हलमै पुगेर एक साताभित्र तिर्न ताकेता गरेका थिए । स्थानीय कर र चलचित्र विकास बोर्डको शुल्कप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघको आह्वानमा गत सोमबार देशभरका हल बन्द रहेका थिए ।

Comments

KATHMANDU WEATHER