Loading...
Logo
Image

मिटरब्याजीले पीडित कुटेपछि सिरहा प्रहरी कार्यालय अगाडि रातभर धर्ना

मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि  पीडितहरु रातभर धर्ना बसेका छन् ।

मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै  पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् ।

मिटरब्याजी निरौलाले बुधवार अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेका थिए । घटनापछि निरौलालाई पक्राउ गरी कारबाही गर्न मिटर ब्याज पीडितहरू धर्ना बसे । उनीहरू कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी रात बिताए ।

निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए । बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । धर्नामा पासवान पनि बसेका थिए ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक पासवानका अनुसार अदालतमै पीडितमाथि कुटपिट हुँदा प्रहरीले मिटरब्याजीलाई जोगाएर गाडीमा जिल्ला प्रहरी ल्याएका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । उल्टै लाठीचार्ज गर्दै धपाउने भनेर प्रहरीले धम्काएपछि रातभरि धर्ना बसेको उनको भनाइ छ ।

निरौला विष्णुपुर गाउँपालिका १ का बासिन्दा हुन् । उनीविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए ।

Comments