Loading...
Logo
Image

किमद्वारा युद्धको तयारी गर्न निर्देशन, थप तीन भूउपग्रह प्रक्षेपण गर्ने घोषणा

त्तर कोरियाली नेता किम जोङ उनले युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए । उनले सो क्रममा दक्षिण कोरियाबाट आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धका लागि तयार हुन आफ्ना सेनालाई निर्देशन दिएका हुन् ।  

बैठकले आगामी वर्षमा थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्ने लगायत थप सैन्य विकासको योजना घोषणा गरेको केसीएनएले जनाएको छ ।

प्योङयाङले यसै वर्ष सफलतापूर्वक जासुसी भूउपग्रह प्रक्षेपण गरी आफ्नो संविधानमा आणविक शक्तिका रूपमा आफ्नो स्थान स्थापित गरेको घोषणा गरेको छ । उत्तर कोरियाले आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल आइसीबीएमको परीक्षण गरेको छ ।

केसीएनएका अनुसार शनिबार सम्पन्न बैठकमा किमले संयुक्त राज्य अमेरिकाले ‘विभिन्न प्रकारका सैन्य खतरा’ खडा गरेको आरोप लगाएका थिए । र, आफ्नो सेनालाई ‘युद्ध प्रतिक्रियाका लागि अत्यधिक क्षमता’ कायम राख्न आदेश दिएका थिए ।

किमले भनेका छन्, 'कोरियाली प्रायद्वीपमा शत्रुहरूले हामीमाथि आक्रमण गर्न दुष्साहसी कदम चालेका कारण कुनै पनि बेला युद्ध भड्किन सक्छ भन्ने कुराको पुष्टि हो ।' प्योङयाङलाई रोक्न वासिङ्टनले यसै महिनाको सुरुमा दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आणविक शक्तिसम्पन्न पनडुब्बी तैनाथ गर्नुका साथै सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो । यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा वासिङ्टनका बी-५२ बमवर्षकजस्ता रणनीतिक हतियार तैनाथ गर्नुलाई ‘जानाजानी आणविक युद्ध उत्तेजक कदम’ को संज्ञा दिएको थियो ।

किमले भनेका छन्, 'हामीले सम्भावित आणविक संकटको शीघ्र जवाफ दिनुपर्छ र आपत्‌कालीन अवस्थामा आणविक शक्तिलगायत सबै भौतिक साधन र शक्ति परिचालन गरेर दक्षिण कोरियाको सम्पूर्ण भू-भागलाई शान्त पार्ने तयारीलाई तीव्रता दिनुपर्छ ।’

बैठकमा किमले दक्षिण कोरियासँग अब मेलमिलाप र पुनः मिलनको प्रयास नगर्ने बताउँदै सोल र वासिङ्टनका कारण उत्पन्न ‘अनियन्त्रित संकटको स्थिति’ रहेको बताएका थिए । प्योङयाङको जासुसी भू-उपग्रह प्रक्षेपणसँगै अन्तरकोरियाली सम्बन्ध यस वर्ष निकै बिग्रिएको छ, जसका कारण सियोलले सन् २०१८ मा भएको सैन्य सम्झौतालाई आंशिक रूपमा स्थगन गरेको छ ।

'मलाई विश्वास छ कि यो एक गल्ती हो, जुन हामीले अब हामीलाई ‘मुख्य शत्रु’ का रूपमा घोषणा गर्ने शक्तिलाई मेलमिलाप र एकीकरणका लागि समकक्षीका रूपमा सोच्नु हुँदैन,' नेता किमलाई उद्धृत गर्दै केसीएनएले भनेको छ ।

किमले सीमापार मामिला हेर्ने विभागहरूको पुनः गठनका लागि ‘आधारभूत रूपमा दिशा परिवर्तन गर्न’ उपायहरू कोर्न आदेश दिए । प्योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको थियो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाले सन् २००६ मा पहिलोपटक आणविक परीक्षण गरेदेखि नै आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न आग्रह गर्दै थुप्रै प्रस्ताव पारित गरिसकेको छ ।

शिलापत्र 

Comments