Loading...
Logo
Image

खामेनेईले गरे देशवासीलाई सम्बोधन, अमेरिकाको गालामा चड्कन हानेको दाबी

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले देशवासीका नाममा सम्बोधन गरेका छन् । राजधानी तेहरानबाट देशवासीलाई सम्बोधन गर्दै उनले अमेरिकाको हालैको सैन्य आक्रमण आणविक कार्यक्रम रोक्न नभई  इरानलाई घुँडा टेकाउने नियतका साथ भएको दाबी गरे ।

उनले भने, 'कहिले मानव अधिकार, कहिले महिलाका अधिकार, अनि कहिले आणविक वा मिसाइल कार्यक्रमलाई बहाना बनाइन्छ, तर यी सबैको सार एउटै हो– उनीहरू इरानलाई आत्मसमर्पण गराउन चाहन्छन् ।' 

उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख गर्दै भने, 'ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न आह्वान गरेका थिए, तर इरानजस्तो महान् राष्ट्रका लागि ‘समर्पण’ भन्ने शब्द उच्चारण गर्नु आफैँमा अपमान हो ।' 

खामेनेईले युद्धका क्रममा अमेरिकी पक्षले ‘अत्यधिक अतिशयोक्ति’ गरेको आरोप पनि लगाए । उनले भने, 'इरानको आणविक केन्द्रमा आक्रमण गरेर अमेरिकाले कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन । बरु उनीहरूले वास्तविकता लुकाएर आफ्नो असफलतालाई ढाकछोप गर्न खोजे ।'

उनी भन्छन्, 'हामीले अमेरिकी सैन्य उपस्थितिको एक मुख्य आधारमा प्रत्यक्ष हमला गर्यौं । तर, अमेरिकाले त्यसलाई सामान्य बनाउने प्रयास गर्‍यो ।' उनले अमेरिकी आक्रमणको उद्देश्य इजरायलको संरक्षण रहेको पनि बताए । 'अमेरिका प्रत्यक्ष युद्धमा होमियो किनभने उसलाई लाग्यो, यदि उसले साथ दिएन भने इजरायली शासन पूरै नष्ट हुनेवाला थियो,' खामेनेईले भने ।

Comments