Loading...
Logo
Image

दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा क्रमिक सुधार

घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे-म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बँच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन् ।

लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उनको घाँटीको बायाँ भागमा छुराले चोट लागेको थियो । टाउकोबाट शरीरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्कालै स्थानीय अस्पतालमा लगिएको थियो ।

उपचार त्यहाँ सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार लीको भाग्यवश स्वास्थ्यमा सुधार आएको छ ।

Comments