Loading...
Logo
Image

संकल्प यात्राको क्रममा प्राप्त सुझाव सम्बोधन गर्न एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो ।

ध्यानाकर्षण पत्र बुझाउन ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन् । मंगलबार बिहान नेकपा एमालेका पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।

ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए । यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए ।

ध्यानाकर्षणपत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरे ।

Comments