Loading...
Logo
Image

३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने क्यानडाको घोषणा

क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा भारी कटौतीको घोषणा गरेको छ ।

क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो । सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछि तय गरिनेछ ।

कटौतीको यो प्रतिशत अन्टारियो लगायतका केही प्रान्तहरूमा ५० प्रतिशतभन्दा बढी हुनेछ । सन् २०२२ अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये आधाभन्दा बढी अन्टारियोमा थिए ।

क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको छ । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरका अनुसार यो संख्या एक दशक अघिको तुलनामा तीन गुणा बढी हो । क्यानडाको संविधानअनुसार शिक्षा प्रादेशिक सरकार अन्तर्गत रहन्छ । यसमा पोस्ट सेकेन्डरी शिक्षा पनि समावेश छ । यसअनुरूप अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वीकार गर्ने शैक्षिक संस्था छनौट पनि प्रान्तीय सरकारहरूले गर्न सक्छन् ।

संघीय सरकारको मन्त्रिपरिषद्को सोमबारदेखि मन्ट्रियलमा सुरु बैठकले यससम्बन्धी विभिन्न नीतिहरू बारे निर्णय गरेको हो ।

Comments