Loading...
Logo
Image

आजबाट शहीद सप्ताह सुरु, शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण

विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा बुधवारबाट शहीद सप्ताह सुरु भएको छ ।

माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजदेखि उनको टेकुस्थित सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो ।

शहीदहरूको सम्झनामा काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माग १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित खरिको रुखमा शुक्रराजलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनअधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदान सम्झँदै नेपाल भाषाको व्याकरण लेख्ने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै रहेको बताए ।

सात दिन शहीद सप्ताह गरी माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।  

Comments