Loading...
Logo
Image

सुदूरपश्चिममा संसदीय दलको नेता हटाउने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।

धनगढीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले पार्टीको विधि विपरीत र केन्द्रीय कार्यालयको निर्देशन समेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्चाउन निर्देशन दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णय समेत परिपत्र गरिएको छ ।

प्रदेश अध्यक्ष र हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘यहि मिति २०८० माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्णयमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा,विधिविपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’

संसदीय दलका उपनेता रावलको अध्यक्षतामा बसेको बहुमतको बैठकले भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेको थियो । खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन् । ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एक जना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवी माल लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुवर भने उपस्थित भएनन् । अहिले उक्त निर्णयले माओवादी भित्र तीव्र विवाद उत्पन्न भएको छ ।

Comments