Loading...
Logo
Image

पाकिस्तानमा नवाज शरीफ गठबन्धन सरकार बनाउने गृहकार्यमा

पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ ।

यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले भने सबैभन्दा धेरै सिट जितेको छ । पाकिस्तानका मिडियाहरुका अनुसार पीटीआईले ९२ सिट जितेको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नवाज शरीफको पार्टी (पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ७३ र बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट जितेको छ ।

पाकिस्तानको नेशनल एसेम्बलीमा कूल ३३६ सिट छन् । २६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो । ७० सिट आरक्षण तोकिएको छ । एक सिटको चुनाव स्थगित गरिएको थियो । स्थगित भएको स्थानमा आगामी १५ फेब्रुअरीमा मतदान हुनेछ ।

सरकार बनाउन १३४ सिट जित्नुपर्नेमा कसैले पनि एकल बहुमत पुर्‍याउन नसकेपछि मिलिजुली सरकार बनाउने तयारी सुरु भइसकेको छ । यसअघि तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफले गठबन्धन सरकार बनाउन आह्वान गरिसकेका छन् । शरीफको पार्टी पीएमएल-एन र भुट्टोको पार्टी पीपीपीका नेताहरुबीच शनिबार इस्लामावादमा बैठक समेत भएको थियो । नवाज शरीफका भाइ एवम् पूर्वप्रधानमन्त्री शहबाज शरीफले बिलावल भुट्टो र उनका बुवासँग छलफल गरेका थिए ।

यसअघि पीपीपी नेता एवम् पूर्वविदेशमन्त्री बिलावल भुट्टोले जिओ न्यूजसँग कुरा गर्दै आफूहरुको साथविना पाकिस्तानमा सरकार बन्न सम्भव नभएको बताएका थिए ।

शरीफले शरीफले मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) लगायत साना दललाई समेटेर सरकार गठनको प्रयास जारी राखेका छन् । यीमध्ये एमक्यूएमले १७ सिट जितेको छ । सो पार्टीका नेताहरु शरीफलाई भेट्न इस्लामावाद गएको पाकिस्तानका मिडियाहरुले उल्लेख गरेका छन् । यसबाहेक आईपीपी, जेयूआई र केही स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाउने गृहकार्य पनि शरीफले गरेका छन् । शनिबारसम्म तीन जना स्वतन्त्र सांसदले शरीफको पार्टीमा सामेल भएको घोषणा गरिसकेका छन् ।

Comments