Loading...
Logo
Image

कृषि विकास बैंकले भन्यो- लहानको धितो लिलामीबारे भ्रम छरियो, बैंकमा तालाबन्दी र तोडफोड भयो

कृषि विकास बैंकले सिराहाको लहान शाखामा कर्जा असुली तथा लिलामी भ्रमपूर्ण समाचार प्रकाशित गरिएको जनाएको छ । साथै बैंकमा तालाबन्दी तथा तोडफोड गरिएको पनि जनएको छ ।

बैंकले बिहीबार विज्ञप्ति जारीगर्दै उक्त कार्यहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'यस बैंकको शाखा कार्यालय लहानका प्रबन्धकलगायतका कर्मचारीहरूलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा प्रकाशित कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवाअन्तरगत रहेको बैंकिङ सेवा नै ठप्प हुने गरी दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी ढुङ्गा मुढा तथा होहल्ला गर्नाका साथै बैंकिङ सेवा बन्द गर्ने लगायतको कार्यप्रति यस बैंकको गम्भफर ध्यानाकर्षण भएको छ,' बैंकले निकालेको विज्ञप्तिमा भनिएको छ ।

वास्तविकताभन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै बैंकको सेवा प्रवाह पनि अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । 'अमर्यादित एवं अवाञ्छित व्यवहार गरी बैंक जस्तो संवेदनशील स्थानमा हुलहुज्जत भएको घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्प्रेषण गर्न आवश्यक देखिएको' बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकको लहान शाखाबाट व्यक्तिगत ओभरड्राफ्ट शीर्षकअन्तर्गतको कर्जा उपभोग गरेका ग्राहकलाई भुक्तानी गर्नुपर्ने साँवा एवं व्याज कर्जा सम्झौता बमोजिम तोकिएको समयमा भुक्तानी नगरेको बैंकको भनाइ छ । त्यसरी भाखा नाघेको र लामो समयसम्म पनि कर्जा चुक्ता नगरेपछि पटक-पटक मौखिक एवं लिखित रूपमा पत्राचार गरी ताकेता गरिएको पनि बैंकले जनाएको छ ।

त्यसपछि २०७९ वैशाख २० मा २१ दिने सार्वजनिक सूचना मार्फत जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । उक्त अवधिमा कर्जा राफसाफ नगरेपछि प्रचलित नियमअनुसार धितो लिलामीको लागि पहिलोपटक २०७९ माघ २३ मा, दोस्रोपटक २०८० जेठ १७ मा र तेस्रोपटक २०८० मंसिर ४ माग राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी भाखा नाघेको कर्जाको साँवा र व्याज तिर्न बारम्बार मौका दिइएको बैंकको दावी छ ।

Comments