Loading...
Logo
Image

एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न नेपाल प्रतिबद्ध : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताएका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष २०२५ का अवसरमा चिनियाँ दूतावासले बिहीबार आयोजना कार्यक्रममा उनले चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको बताए ।

'चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि हामी आभारी छौँ । नेपाल र चीनबीच सदियौँ पुरानो एवं निकट, मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ,' उनले भने, 'हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छ, जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ । भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ ।'

सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान गर्ने बताए । चिनियाँ परम्पराअनुसार यो वर्ष सर्पको वर्ष भएको बताउँदै उनले यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुसी, प्रगति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।

Comments