Loading...
Logo

पर्सामा गाेली चल्याे, एक जनाकाे मृत्यु, सेनाका जमदार गम्भीर घाइते

काठमाडौं, चैत १४ गते । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेना र तस्कर समूहबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृतक हुने व्यक्तिकाे सनाखत हुन सकेकाे छैन । ती व्यक्ति तस्कर समूहतिरका हुन् । 

सो घटनामा गोली लागेर सेनाका जमदार मीनबहादुर छन्त्याल गम्भीर घाइते भएका छन् ।

निकुन्जको भित्रि जंगलमा बिहान साढे ९ बजेतिर बन्दोवस्तीका सामानसहित रहेका वन्यजन्तु चोरी शिकारी गर्ने तस्करको समूह र सेनाबीच गोली हानाहान भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो  ।

शुक्रबार बिहान जंगलभित्रबाट बन्दुक पड्किएको आवाज आएपछि त्यसतर्फ गस्तीमा गएको सेनाको टोलीमाथि  उक्त समूहले आक्रमण गरेपछि सेनाले पनि जवाफी कारबाहीमा गोली चलाएको श्रेष्ठले बताउनुभयो  ।

घाइतेलाई उचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । सेनाले एक व्यक्तिलाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ रहेका छन् । उनलाई बाराको आधाभारस्थित सेनाको हिरासतमा राखिएको छ ।

घटनास्थलबाट सेनाले दुई थान बन्दुक, बारुद, धारिलो हतियारलगायतका सामानसमेत बरामद गरेको छ ।

स्रोत: Shilapatra.com

Comments