Loading...
Logo

आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि उठ्यो

८ लाख ४१ हजार राहत र श्रीमतीलाई राेजगारी र २ छाेरालाई निःशुल्क उच्च शिक्षाकाे सम्झाैता

शिलापत्रबाट

काठमाडौं, चैत्र २६ गते बुधबार । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव परिवारले आज बुधबार उठाएकाे छ । उपचारका क्रममा मृत्यु भएका थापाकाे शव उनकाे परिवारले ११ दिनपछि जिम्मा लिई आज बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिका बीचमा रहेकाे मगरघाटमा दाहसंस्कार गरेकाे हाे ।

परिवारले बाबुरामको उपचारमा चिकित्सकले लापरबाही भएको भन्दै उचित क्षतिपूर्तिसहित लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै शव बुझ्न मानेकाे थिएन ।

बुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट परिवारका सदस्यको माग सम्बोधन गर्ने गरी सहमति जुटेसँगै बाबुरामको शव उठाउन परिवार राजी भएकाे हाे ।

स्थानीय तहसँग समन्वय गरेर पाल्पाली समाज रुपन्देहीले ५ लाख ५० हजार, थापा समाजले १ लाख, टण्डन समाजले १ लाख ५० हजार, विभिन्न व्यक्तिहरूबाट ४१ हजार राहत उपलब्ध गराउने सहमति भएको छ ।

त्यसैगरी, श्रीमती रीता थापालाई सैनामैना नगरपालिकाले रोजगार दिने, प्रदेश सरकारले थापाका २ छोरालाई उच्च शिक्षा नि:शुल्क पढाउने सम्झौतासमेत भएकाे छ ।

उनलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको थियो । तर, उनको नमुनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । रिद्दिकाेट गाउँपालिका– ५, कुसुम खाेलाका स्थायी बासिन्दा थापा सैनामैना– ४, सिसाैडाँडामा बस्दै आएका थिए ।

स्रोत: शिलापत्र

Comments