कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो
मेरो अनलाइन
काठमाडौं, चैत्र २८ गते शुक्रबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९७ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९७ हजार ५६ पुगेको छ ।
भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ । अमेरिकामा अहिलेसम्म १६ हजार ६ सय ९७ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १५ हजार आठ सय ४३ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय १० जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख को १९ हजार नौ सय ३७ पुगेको छ ।
संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म चार लाख ६८ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । त्यस्तै स्पेनमा संक्रमित संख्या एक लाख ५७ हजार नाघेको छ भने इटालीमा यो संख्या एक लाख ४३ हजार नाघेको छ ।
आज मात्र बेल्जियममा ४ सय ९६ जना र स्पेनमा ३ सय ९६ जनाको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर तीन लाख ६५ हजार संक्रमित निको भइसकेका छन् । चीनमा सबैभन्दा धेरै संक्रमित निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजारभन्दा बढी संक्रमित निको भएका छन् । स्पेनमा पनि ५५ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार नाघेको छ ।

Comments