- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
दिनेश गौतम
काठमाडौं, चैत्र ३० गते आईतबार ।
‘कति पर्ने हो जुत्ताको ?’
'पुरानो रहेछ, सित्तैमा दिन राखेको हो कि ! काठमाडौंबाट हिँड्दै पुगेकी एक दिदीको वाक्य पूरा नहुँदै एक युवाको आवाज आयो । पैसा पर्दैन, आफूलाई ठीक हुने जुन लगाएर गए पनि हुन्छ ।'
‘भोक लागेको छ ? आउनुहोस् खाजा लानुहोस्,' फेरि अर्को युवाको आवाज आयो ।
काठमाडौंबाट हिँड्दै पुगेका एक पुरुषले हतारहतार एउटा पोको लिए । उक्त पाेकाेमा चिउरा, दालमोट, चाउचाउको प्याकेट र भुजिया अनि एक बोतल मिनरल वाटर थियाे ।
‘कति पैसा हो दाइ ?,’ ती पुरुषले सोधे ।
‘पैसा पर्दैन । तपाईंहरूकै लागि राखेको हो । सित्तैमा,’ ती युवाको जवाफ थियो ।
यी दुवै आवाज हाम्रा कानमा ठोक्किए ।
‘यस्तो संकटमा पनि सित्तैमा जुत्ता र खाजा बाँड्रने को होला ?’ भन्दै
हामी ती युवा भएतिर लम्कियौँ ।

पसिनाले निथ्रुक्क भिजेका ती दाइले क्षणमै एक बोतल पानीले आफ्नो आँत बिझाए । अनि लामो सास लिए । त्यसपछि प्याकेटको खाजा छेउमै रहेको पेटीमा बसेर चपाउन थाले ।
उनको परिचय सोध्दा मुसुक्क मुस्कुराए । त्यत्तिमै उनले आफ्नो परिचय टुंगाए ।
काभ्रेपलाञ्चाेकको धुलिखेल चोक । बीपी राजमार्ग छिर्ने द्वारमै राखिएको छ– पुराना जुत्ता चप्पल, गाडामा खाजा, पानी, जीवनजल र ग्लुकोज ।
छेउमा लेखिएको छ, ‘यो जुत्ता तपाईंहरूका लागि । तपाईं टाढा घरसम्म हिँडेर जाँदै हुनुहुन्छ र आवश्यक छ भने लगाएर जानुभए हुन्छ ।’
पढ्न सक्नेले त पढेर बुझ्थे । पढ्न नसक्नेले त्यहाँ रहेका युवालाई सोधेर लिन्थे ।
कोरोना भाइरसको डर र त्रास । लकडाउनसँगै रोजीरोटी पनि बन्द । काठ्माडौंमा चुल्हो बाल्न नसक्ने भएपछि मजदुरहरू हिँडेर नै आफ्नो गाउँ फर्किरहेका छन् । त्यही क्रममा हामीले धुलिखेल चोकमा सप्तरीसम्म जान लागेका मजदुरलाई भेटेका थियौँ ।
चप्पल चुँडिएर खाली खुट्टा हिँडिरहेका यात्रु पनि थिए । ती यात्रुहरू पुरानै भए पनि ती जुत्ताचप्पल अमूल्य मानिरहेका थिए ।
‘खाली खुट्टा हिँड्नुभन्दा त यो जुत्ताले १ दिन छिटो घर पुगिन्छ । हिँड्ने आँट पनि आउँछ,’ १ यात्रुले थपे ।

यो दृश्यलाई केही बेर नियालेपछि हामीले स्वयमसेवकलाई सोध्यौँ, 'यो सोच कसरी आयो ? व्यवस्थापन कसरी गरिरहनुभएको छ ? सहयोग कसले गरेको छ ? कहाँबाट जुटाउनु हुन्छ ?'
‘मेरो नाम उल्लेख नगर्नुहोस् । टोलका मिलेर गरेका हौँ । लकडाउन भएपछि हिँडेर घर जानेहरू सयौँ आउन थाले । कोही खाली खुट्टा, कोही चप्पल लगाएर आएको देखेपछि घरघरमा भएका जुत्ता चोकमा ल्याएर राखेका हौँ,’ ती स्वयमसेवकले भने ।
महोत्तरी, सिन्धुली, धनुषा, सिरहा, सप्तरी, सिन्धुपाल्चोक रामेछाप, उदयपुरलगायत जिल्लाका मजदुरहरू धुलेखल हुँदै हिँडेर जाने गरेको उनले बताए ।
‘कसैबाट सहयोग लिएका छैनौँ । यहीँको स्थानीयले गरेको सहयाेग हो याे । कतिको त खुट्टामा घाउ पनि भएको थियो । बाटोको यात्रा राम्रो हाेस् भनेर याे सहयाेग गरेका हौँ । खानका लागि चिउरा, दालमोट, भुजिया, ग्लुकोज जीवनजल र पानी राखेका छौँ,’ उनले भने ।
चोकको एक भित्तामा असीम मगरको नेतृत्वमा ११ जनाको टोली थियो । उनीहरूको गन्तव्य सिन्धुलीसम्मको थियो । अर्को टोली थियो सप्तरी पुग्ने । पेटीमा कोही निदाएका थिए । कोही चोकमा राखिएको खाजा खाँदै थिए । उनीहरूको एउटै स्वर थियाे, ‘भोकै मर्नुभन्दा त हिँडरै घर जानु वेश । अनि खाजापानी दिएकोमा टोलवासीलाई आशीर्वाद पनि दिए ।

Comments