खाद्यान्न र ग्यास पसलमा देखिनेगरी मुल्यसुची नराखे पसलमा सिलबन्दी गरिने
मेरो अनलाइन
काठमाडौँ, वैशाख १ गते सोमबार । खाद्यान्न तथा ग्यासलगायत दैनिक अत्यावश्यक समानहरु विक्रीवितरण पसलहरुमा आफूसग भएको सामानको मूल्यसूची देखिने गरी नराख्नेलाई सरकारले पसलमा सिलबन्दी गर्ने भएको छ ।
बजारमा दैनिक उपभोग्य बस्तुको कालोबजारी भएको गुनासो आएसंगै सरकारले त्यस्ता कालोबजारी गर्नेलाई कारबाही चलाउने भएको हो ।
लकडाउनको समय बढेसंगै त्यसको असर आम उपभोक्तामा पर्न सक्ने भएकोले बजार अनुगमन र नियमनलाई कडाइ गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुर, चारवटै सुरक्षा निकायका प्रतिनिधि, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र उद्योग वाणिज्य महासंघ काठमाडौंले लकडाउनको कालोबजारी र कृत्रिम अभाव हुन नदिन नयाँ रणनीति अपनाएको हो ।
अब खाद्यान्न तथा ग्यास विक्रेता र वितरकले ग्यास लगायत सामानको सम्पूर्ण विवरण स्वघोषणा गर्नुपर्ने छ साथै मूल्य सुची उपभोक्ताले देख्ने गरी टाँस्नु पर्ने छ । अनुगमनको क्रममा यस्तो नपाईएमा पसलमा सिलबन्दी गरी कालोबजारी अन्तर्गत कारबाही चलाउने गरी सरकारले तयारी गरेको हो । बजार अनुगमन गर्नका लागि प्रशासन, आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी सम्मिलित मार्सल टोली गठन गरिएको छ ।

Comments