Loading...
Logo
Image

ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

मेरो अनलाइन

काठमाडौं, बैशाख ५ गते शुक्रबार । कोरोना भाइरस फैलिनबाट रोक्ने विषयमा मतभेद हुँदा ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका छन् ।
दुई नेताबीचको मतभेद आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमण फैलिन नदिने उपायबारे स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको भनाईलाई खुला रुपमा राष्ट्रपति बोलसोनारोको आलोचनाका रुपमा हेरिएको छ ।
स्वास्थ्यमन्त्री हेनरिक मनडेटाले कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताएका थिए । उनले आ–आफ्नो प्रदेशमा लकडाउन गरेको भन्दै गभर्नरहरुको प्रशंसा पनि गरेका छन् । तर राष्ट्रपति बोलसोनारो यो तर्कसँग सहमत छैनन् । उनले जनतालाई नडराई काममा फर्कन आग्रह गरेका छन् । यसअघि नै बोलसोनारोले कोरोना भाइरसलाई ‘फ्लु’ भन्दै आत्तिनु नपर्ने बताएका थिए ।
हेनरिकले आफू बर्खास्त भएको कुरा आफैंले ट्वीट गरेर जानकारी दिएका छन् । ट्विटरमा शेयर गर्दै लेखेका छन्,– कोरोनाबाट हाम्रो स्वास्थ्य सेवामा भयंकर चुनौती आएको छ । समय छँदै उपाय लगाइएन भने स्वास्थ्य व्यवस्था झन खराब हुनेछ ।'
राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको खबर सार्वजनिक भएपछि घरमा बसेका जनताले बाहिर निस्किएर भाँडा बजाएर राष्ट्रपति बोल्सोनारोको विरोध गरेका छन् ।

Comments