- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ५ गते शुक्रबार । इन्धनको भण्डारण भरिएपछि आयल निगमले पेट्रोलियम पाइपलाइनबाट आयात बन्द गरेको छ । अमलेखगन्ज डिपोको मौज्दात क्षमता २० हजार ६ सय किलोलिटर हो । इन्धनको भण्डारण गृह नै भरिएपछि बिहीबार बिहान साढे ५ बजेदेखि आपूर्ति बन्द गरिएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए । ‘दैनिक करिब १२ लाख लिटर बिक्री हुने डिजेल अहिले न्यून छ । एक दिन बिराएर डिपो सञ्चालन गर्दा करिब ५ लाख लिटर मात्रै बिक्री हुन्छ,’ उनले भने ।
अमलेखगन्ज डिपोबाट मौज्दातका लागि विराटनगर, भैरहवा र काठमाडौंमा पनि पठाइन्छ । तर अहिले सबै भण्डारण गृह भरिएका उनले जानकारी दिए । लकडाउनपछि अत्यावश्यक वस्तुका सवारीबाहेक अन्य चलेका छैनन् । सार्वजनिक यातायात र उद्योग नचल्दा डिजेलको खपत भएको छैन । यसअघि मार्च २७ तारिखमा पनि पाइपलाइनबाट आपूर्ति बन्द गरिएको थियो । भण्डारण केही घटेपछि पाइपलाइनबाट पुनः आपूर्ति भएको थियो ।
भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले पटनाबाट डिजेल पम्पिङ गरेपछि पाइपलाइनबाट मोतिहारी हुँदै अमलेखगन्ज डिपोमा डिजेल आइपुग्छ । सामान्य दिनमा पाइपलाइनबाट प्रतिघण्टा १ लाख ८० हजार लिटर डिजेल आइरहेको थियो । लकडाउनले भारतमा पनि डिजेलको खपत छैन । खपत नभएपछि आईओसीले डिजेलको आपूर्ति बढाएको रेग्मीले बताए ।
सामान्य दिनमा औसत दैनिक ३ हजार किलोलिटर पेट्रोल र ७ हजार किलोलिटर डिजेल बिक्री हुने गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । अहिले भने १५ दिनमा ३ हजार किलोलिटर पेट्रोल र १५ हजार किलोलिटर डिजेल बिक्री भएको उनको भनाइ छ । हाल निगमसँग मुलुकभर ६७ हजार २ सय ९९ किलोलिटर भण्डारण क्षमता छ, जसमध्ये ५५ हजार ९ सय १६ किलोलिटर इन्धन मौज्दात रहेको निगमले जनाएको छ । यो कुल मौज्दातको ८३ प्रतिशत हो । पेट्रोलको भण्डारण क्षमता ८ हजार ६ सय ३२ किलोलिटर छ । त्यसमध्ये ५ हजार ४ सय ४८ किलोलिटर पेट्रोल मौज्दात छ ।
आईओसीले मूल्य घटाए पनि नेपालमा समायोजन भएन
यसैबीच आईओसीले इन्धनको मूल्य घटाएर पठाए पनि निगमले भने मूल्य समायोजन गरेको छैन । आईओसीले १ र १५ तारिखमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्यमा गिरावट आएपछि आईओसीले सोहीअनुसार मूल्य घटाई पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ६५ पैसा र डिजेलमा ४ रुपैयाँ ३५ पैसा रुपैयाँ घटेको छ । इन्धनको माग अत्यन्त न्यून रहेकाले समायोजन नगरिएको निगमको भनाइ छ । ‘लकडाउनका कारण इन्धन खपत भएको छैन,’ उपाध्यायले भने, ‘त्यसैले हाललाई बिक्री मूल्य यथावत् राख्ने निर्णय भएको छ ।’

Comments