सरकारको निर्देशन: लकडाउन भरी ईन्टरनेटको लाइन नकाट्नु,जरिवाना पनि नलिनु
मेरो अनलाइन
काठमाडौं, बैशाख ५ गते शुक्रबार । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिभर शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न र बिलम्ब शुल्क पनि नलिन सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।
लकडाउनको अवधिभर इन्टरनेटको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिन र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा नकाट्न साथै लकडाउन अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणले सम्पूर्ण सेवा प्रदायकलाई निर्देशन दिएको सूचना जारी गरेको छ ।
यस्तो छ नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सुचना :
इन्टरनेट सेवा सुचारु राख्न इन्टर्नेट सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सूचना
कोरोना भाईरस (कोभिड-१९) को संभावित संक्रमण फैलिन नदिन तथा रोकथामको लागि नेपाल सरकारबाट मुलुकभर बन्दाबन्दी (लकडाउन) गरिएको हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्नेमा केही इन्टर्नेट सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो प्राप्त भएकोले बन्दाबन्दीको अवधिमा इन्टर्नेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टर्नेट सेवा अवरुद्ध हु“दा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्नु हुन र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टर्नेट सेवा समेत बन्दाबन्दी अवधिभर निरन्तर सञ्चालन हुने गरी बन्दाबन्दी अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनु हुन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट इमेल सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरु (प्रमुख दूरसञ्चार सेवा प्रदायकहरु लगायत) लाई निर्देशन जारी गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन, कमलादी
काठमाडौं, नेपाल
फोन : ४२५५४७४

Comments