Loading...
Logo
Image

दोस्रो विश्‍वयुद्ध लडेका ९९ वर्षीय वृद्धले कोरोनालाई पनि पराजित गरे

काठमाडौं, बैशाख ७ गते आईतबार । दोस्रो विश्वयुद्ध  लडेका एक जना ब्राजिली वृद्धले कोरोना भाइरसविरुद्धको लडाइँ पनि जितेका छन् । कोरोना भाइरसबाट संक्रमित दोस्रो विश्वयुद्ध लडेका ब्राजिली नागरिक एर्मान्डो पिभेटा मंगलबार ब्रासिलियामा रहेको आम्र्ड फोर्सेस हस्पिटलबाट डिस्जार्ज भएका हुन् ।

रुघाखोकी लागेपछि उनी ८ दिनअघि अस्पताल भर्ना भएका थिए । स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । चिकित्सकहरुले उनलाई गत मार्च २३ देखि नै निगरानी गरिरहेका थिए ।

‘पाको उमेरको भएकाले संक्रमण हुनु नै निकै जोखिम थियो । तर सबैलाई चकित तुल्याउँदै उहाँको अवस्थामा सुधार आयो र उहाँ निको हुनुभयो । उहाँको केसले हामीलाई थप हौसला प्रदान गरेको छ,’ ब्राजिलका संक्रामक रोग विशेषज्ञ हेमर्सन क्रुजले सीएनएनसँगको कुराकानीमा भनेका छन् ।

ब्राजिलको रक्षा मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणपछि निको हुने एर्मान्डो सबैभन्दा पाका उमेरका व्यक्ति हुन् ।

यसअघि दोस्रो विश्वयुद्धमा सहभागी एक बेलायती ९९ वर्षीय नागरिक पनि कोरोना भाइरसको संक्रमणपछि निको भएका थिए । बेलायती नागरिक अल्बर्ट च्याम्बर्स कोरोना भाइरस संक्रमणपछि निको भएर घर फर्किइसकेका छन् ।

स्रोत: ekantipur.com

Comments