Loading...
Logo
Image

उपचारमा खटिएकी नर्सले काेराेना बिरामीको भेन्टिलेटर अफ गरिदिइन

कोरोना भाइरस (कोभिड–१९) का गम्भीर बिरामीले यदि भेन्टिलेटर पाए भने बाँच्न सक्छन् । भेन्टिलेटरको सहायताले उनीहरूलाई मृत्युको मुखबाट निकाल्न सकिन्छ ।

जब बिरामी आफैँले श्वास फेर्न सक्दैन, तब उसलाई भेन्टिलेटरको सहायताले फोक्सोसम्म अक्सिजन पुर्‍याउने र कार्बनडाइअक्साइड निकाल्न सम्भव हुन्छ । तर, केवल भेन्टिलेटरको सहयोगले मात्रै बिरामी बचाउन सम्भव हुँदैन ।

यसैका कारण संसारभरका स्वास्थ्यकर्मीहरूले केही कठोर निर्णय लिनुपर्ने हुन्छ, त्यसमा एउटा हो– गम्भीर बिरामीमा सुधारकाे संकेत नदेखिएपछि भेन्टिलेटर हटाउनु ।

लण्डनको रोयल फ्रि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) की प्रमुख नर्स जुनिएता नितलाले भनिन्, ‘भेन्टिलेटरको स्वीच अफ गर्नु अत्यन्तै दर्दनाक हुन्छ । कतिपय समयमा त मलाई कसैको मृत्युको जिम्मेवार मै हुँजस्तो लाग्छ ।’


दक्षिण भारतमा जन्मिएकी नितला पछिल्लो १६ वर्षदेखि इङ्ल्यान्डको नेसनल हेल्थ सर्भिसमा आईसीयू विशेषज्ञ नर्सको रूपमा काम गरिरहेकी छन् । ४२ वर्षीया नितलाले भनिन्, ‘भेन्टिलेटर बन्द गर्नु पनि मेरो जागिरको एक हिस्सा हो ।’

अन्तिम इच्छा
अप्रिलको दोस्रो साता नितला एक ब्यस्त बिहानको सिफ्टमा आफ्नो काम गर्नका लागि पुग्दा आईसीयूमा रहेका एक कोरोना संक्रमित बिरामीको उपचार बन्द गर्नु थियो ।

बिरामी एक कम्युनिटी हेल्थ नर्स थिइन्, जसको उमेर ५० वर्षभन्दा बढी थियो । नितलाले बिरामीकी छोरीलाई यो प्रक्रियाका बारेमा जानकारी गराइन् ।

नितलाले भनिन्, ‘मैले उहाँकी आमालाई कुनै दुखाइ नरहेको र शान्त अवस्थामा रहेको जानकारी गराए । मैले उहाँलाई आमाको इच्छा र धार्मिक विश्वासका बारेमा पनि सोधेँ ।’

आईसीयूमा एकपछि अर्को गर्दै बेडहरू राखिएको हुन्छ । नितलाको गम्भीर बिरामी नजिकै अर्का बेहोस बिरामी थिए ।

उनले भनिन्, ‘नर्स ८ वटा बेड भएको आईसीयूमा थिइन् । सबै गम्भीर बिरामी थिए । मैले पर्दा झारेँ र सबै अलार्म बन्द गरिदिएँ ।’

मेडिकल टिमका सबै जना केही बेर चुपचाप बसे । नितलाले भनिन्, ‘नर्स आपसमा कुराकानी गर्न बन्द गरे । बिरामीको गरिमा र उनीहरूको सुविधा हाम्रो प्राथमिकता हुन्छ ।’

नितलाले त्यसपछि बिरामीको कानमा फोन राखिन् र उनकी छोरीसँग बोल्न भनिन् । नितालाले फोनकलका बारेमा भनिन्, ‘मेरा लागि यो केवल १ फोन कल थियो, तर परिवारका लागि धेरै महत्त्वपूर्ण हुन्छ । उनी भिडियो कल गर्न चाहन्थिन् तर दुर्भाग्य आईसीयूभित्र मोबाइल फोन लैजान पाइँदैन ।’

स्वीच बन्द
बिरामीको परिवारको अनुरोधअनुसार नितलाले १/१ म्युजिक भिडियो कम्प्युटरबाट बजाइन् । यसपछि उनले भेन्टिलेटर बन्द गर्नका लागि स्वीच अफ गरिदिइन् । उनले भनिन्, ‘म छेउमा बसेर उनको मृत्यु हुने समयसम्म हात समातेर बसेँ ।’

श्वास लिन सहयोग र उपचार बन्द गर्ने निर्णय मेडिकल टिमले धेरै सोचेर मात्रै लिन्छ । यसमा बिरामीको उमेर, स्वास्थ्य अवस्था, उपचारको असर र निको हुने सम्भावनामाथि ध्यान दिइन्छ ।

नितलाले भेन्टिलेटर सपोर्ट बन्द गरेको ५ मिनेटभित्रै बिरामीको मृत्यु भयो । उनले भनिन्, ‘म माेनिटरमा फ्ल्यास हुने लाइटतिर हेरिरहेकी थिएँ । मुटुको गति शून्य भएपछि स्क्रिनमा सिधा धर्का देखिन थालेका थिए ।’

एक्लोपनामा मृत्यु
नितलाले यसपछि औषधि पुर्‍याउने ट्युबहरूलाई शरीरबाट अलग पारिन् । यी अज्ञात बिरामीकी छोरी फोनमा लगातार कुरा गरिरहेकी थिइन् ।

उनी फोनमा नै प्रार्थना गरिरहेकी थिइन् । छाती गह्रौ पार्दै नितलाले फोन उठाएर बिरामीकी छोरीलाई उनको मृत्यु भइसकेको सुनाइन् ।

तर नर्स नितलाको हेरचाहको ड्युटी बिरामीको मृत्युपछि अन्त्य हुँदैन । उनले भनिन्, ‘एक सहकर्मीकाे सहयाेगले मैले उनलाई बेडमा राख्याैँ । मैले  सेतो कपडाले ढाकेँ । उनको शवलाई बडीब्यागमा राखियो र ब्याग बन्द गर्नुअघि मैले उनको टाउकोमा क्रसको निशान बनाएँ ।’

कोरोना भाइरसभन्दा पहिले उपचार बन्द गर्ने विषयमा आफन्तहरू र डाक्टर नजिक आएर कुराकानी गर्दथे । लाइफ सपोर्ट सिस्टम बन्द गर्नुभन्दा अघि नजिकको नातेदारलाई आईसीयूभित्र जान दिइन्थ्यो ।

तर, संसारका धेरै ठाउँमा यस्तो भइरहेको छैन । नितला यस्ता बिरामी देख्छिन् र उनीहरूलाई संक्रमणमुक्त हुनका लागि सहयोग गर्ने कोसिस पनि गर्छिन् । उनी भन्छिन्, ‘कसैलाई पनि यसरी एक्लै मरिरहेको हेर्नु दुःखद हो ।’

उनी बिरामीले श्वास लिनका लागि संघर्ष गरेको र तड्पिएको देख्छिन् र यो देख्नु पनि उनका लागि तनावपूर्ण हुन्छ ।

अस्पतालमा बेड छैनन्
अस्पतालमा बिरामीको संख्यालाई मध्यनजर गर्दै अस्पतालको क्रिटिकल केयर युनिटमा ३४ बेडको स्थानमा बढाएर ६० बेड बनाइएको छ र सबैमा बिरामी छन् ।

आईसीयूमा बिरामीको हेरचाहका लागि १७५ जना नर्सको टिम रातदिन काममा तैनाथ हुन्छ ।

नितला भन्छिन्, ‘आम रूपमा क्रिटिकल केयर युनिटमा १ बिरामीमा १ जना नर्स राखिएको हुन्छ । तर, अब ३ बिरामीबराबर १ जना नर्स छन् । यो भन्दा पनि अवस्था बिग्रियो भने ६ जना बिरामीबराबर १ जना नर्स राख्ने अवस्था आउँछ ।’

नितलाको टिमका केही नर्सलाई कोरोना संक्रमण देखिएपछि उनीहरूलाई सेल्फ आइसोलेसनमा पठाइएको छ । अस्पतालका अरु नर्सलाई क्रिटिकल केयर युनिटमा काम गर्न तालिम दिन सुरु गरिएको छ ।

उनी सम्झिन्छिन्, ‘सिफ्ट सुरु हुनुभन्दा पहिले हामी हात मिलाउँथ्यौं र एकअर्कालाई स्टे सेफ भन्थ्यौं । हामी एकअर्कालाई केयर ध्यान दिन्थ्यौँ । हामी सबैले एकले अर्कालाई पञ्जा, मास्क र प्रोटेक्टिभ गियर ठीक ढंगले लगायौँ कि लगाएनौँ भन्ने विचार गर्थ्याैं ।’


थप पढ्नुहोस् : https://shilapatra.com/detail/25822

स्रोत: Shilapatra.com बाट सभार

Comments