Loading...
Logo
Image

पहिलोपटक कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल, तेल किन्नेले नै पैसा पाउने !

मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । सोमबार अमेरिकी कच्चा तेलको मूल्य इतिहासमै पहिलोपटक शून्यभन्दा पनि तल झरेर ऋणात्मक भएको छ ।
कच्चा तेलको माग घट्नुका साथै भण्डारणमा कमीका कारण तेलको मूल्यमा ऐतिहासिक गिरावट आएको हो । यो गिरावटको अर्थ हो, तेल उत्पादक देश अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गरिरहेका छन् । उनीहरुलाई अब तेल बिकेन भने भण्डारणको समस्या हुने डर पैदा भएको छ । 

तेलको माग घट्नुको एउटा प्रमुख कारण लकडाउनका कारण विश्वभर तेलको प्रायोग नहुनु हो । अहिले संसारभरका मानिसहरु घरभित्रै रहेका कारण तेलको मागमा कमी आएको छ। 
भण्डारणको समस्याका कारण केही तेल उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गरिरहेका छन् । जसको असर अमेरिकाको तेलको मूल्यमा पर्न गएर मूल्य ऋणात्मक घेरामा गएको हो ।
अहिले खपत हुनेभन्दा बढी कच्चा तेल छ । आर्थिक गतिविधि घटेका कारण विश्वभर तेलको मागमा कमी आएको छ। 
उत्पादक देशलाई अहिले राख्ने ठाउँको अभाव समस्याको रुपमा आएको छ । कोरोना महामारीको संकट समाप्त भएपछि विश्वभर तेलको माग बिस्तारै बढ्दै जाने छ अर्थात् अवस्था सामान्य हुन समय लाग्ने छ । किनभने यी सबै स्वास्थ्य संकट समाधान गर्ने कुरामा भर पर्दछ ।
अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटिआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ । तेलको बजारमा आएको यो गिरावटको असर विश्वभरीको बजारमा परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निर्धारण गर्ने ब्रेन्टमा कच्चा तेलको मूल्यमा ८.९ प्रतिशतले गिरावट आएर तेलको मूल्य प्रतिब्यारेल २६ डलर भएको छ ।

Comments