Loading...
Logo
Image

वैशाख अन्तिम साता बजेट अधिवेशन

काठमाडौं, बैशाख १८ गते बिहीबार । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको छ । भेटमा सभामुख सापकोटाले जतिसक्दो छिटो अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ । 

सामाजिक दुरी कायम गरेर संसद बैठक चलाउने विषयमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । उनले बुधबार नै संसद भवन नयाँ वानेश्वर पुगेर बैठक कक्षको अवलोकन गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । सरकारले संसद अधिवेशन कहिलेका लागि बोलाउने भन्ने घोषणा नगरे पनि वैशाख २१ गतेसम्म संसद भवनमा गर्नुपर्ने तयारी सक्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

वर्षे अधिवेशनमा सामाजिक दूरी कायम गरेर बैठक राख्न संसद सचिवालयले तयारी तीव्र पारेको छ । 
सचिवालयका अनुसार एउटा पंक्तिमा प्रधानमन्त्रीमात्रै बस्नेछन् । प्रधानमन्त्री बस्ने कुर्सी भन्दा पछाडिको पंक्ति खाली राखिने छ । सभामुख रहने ड्यासमा सामाजिक दुरी कायम हुने गरी स्पेस बढाइएको छ । सांसदहरुलाई वीचमा एउटा कुर्सी छाडेर फराकिलो दुरीमा राखिनेछ ।

नेपालमा जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम १४२ मा छ । अर्थात, जेठ पहिलो साता नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने हुन्छ ।

बजेट पेश गर्नुअघि पूर्वबजेट छलफल गर्नुपर्ने हुन्छ । पूर्वबजेट छलफलमा सांसदहरुले दिएका सुझावलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउँछ । अधिवेशनको पहिलो दिन अधिवेशन आहृवानसम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाई बैठक अन्त्य गर्ने अभ्यास छ । यसरी हेर्दा, सरकारलाई अधिवेशन छिटो बोलाउनुपर्ने दवाव छ । अर्कोतर्फ अधिवेशन सुरु हुनु भन्दा कम्तीमा एक हप्ता अगाडि बैठक आहृवान गर्ने अभ्यास छ ।
 

 

                                                                                                                                                                                                      

स्रोत: Online Khabar

Comments